नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सम्मेलनको तयारी तिव्र पारिएको छ । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ मंसिर २५ र २६ गते प्रदेश सम्मेलन हुँदैछ ।
उक्त प्रदेश सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअलरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनका लागि प्रदेशका आठ सय प्रतिनिधि तथा त्यतिकै संख्यामा पर्यवेक्षक तथा सक्रिय कार्यकर्तालाई जुटाएर उद्घाटन गर्ने कार्यक्रम अन्तिम तयारीमा रहेको माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बरालले जानकारी दिए ।
माओवादीले लुम्बिनी प्रदेशको एक सय नौवटा पालिका, निर्वाचन क्षेत्रलाई आधार मानेर भूगोलबाट ६ सय प्रतिनिधि छानेको छ भने आयोजक, ज्येष्ठ कम्युनिस्ट मञ्च, विभिन्न विभाग र मनोनित गरी थप दुई सय प्रतिनिधि गरी आठ सय प्रतिनिधि छनोट भएको नेता बरालले जानकारी दिए । माओवादीले यसपटक स्थानीय तहलाई कार्यकारी बनाएको छ ।
लुम्बिनी प्रदेशका एक सय नौवटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुनेछन् । माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहने छन् ।
पालिकाको सम्बन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहने छ ।
प्रतिक्रिया दिनुहोस्