अपांगता क्षेत्रमा काम गर्दै आएको डेक नेपालले जिल्लास्तरीय सिकाइ आदानप्रदान तथा सामाजिक परीक्षण सम्पन्न गरेको छ । अपांगता सशक्तिकरण एवम् सञ्चार केन्द्र (डेक नेपाल) ले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी सामाजिक परीक्षण गरेको हो ।
डेक नेपालले सञ्चालन गर्ने परियोजनाहरूमध्ये इन्गेज परियोजनाको उपलब्धिका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउँदै सामाजिक परीक्षण गरेको डेक नेपालका अध्यक्ष हरिकला थापाले जानकारी दिइन् ।
जिल्लाका तीनवटा पालिकामा सञ्चालन गरिएको परियोजना भित्र १२ वटा विद्यालय समावेश गरिएको छ । यहाँका खजुरा, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा उक्त परियोजना सञ्चालित छ ।
२०२१ अक्टोबरबाट सुरू भएको परियोजनाले तीन वर्ष पार गरिसकेको डेक नेपालका प्रबन्धक जीवन गिरीले जानकारी दिए । सञ्चालन गरिएको परियोजना निकै प्रभावकारी देखिएको भन्दै यसलाई निरन्तरता दिन र अन्य पालिकामा सञ्चालन गर्न सके धेरै लाभान्वित हुनेमा सहभागीको जोड थियो ।
झन्डै एक वर्ष बाँकी रहेको परियोजनाले पढाइबाट वञ्चित भएकाहरूलाई पढ्ने वातावरण मिलाउन आवश्यक सहयोग गरेको सरोकारवालाहरुले बताएका थिए ।
बाँकेका तीनवटै पालिकाका सीमान्तकृत समुदाय र अपांगता भएका किशोरीहरुलाई औपचारिक, अनौपचारिक शिक्षा, दैनिक जीवन सीप र व्यावसायिक सीप र सहयोग प्रदान गरी सशक्तिकरण गर्ने मुख्य उद्देश्यअनुरूप कार्य गरेको डेक नेपालका निर्देशक देवीदत्त आचार्यले जानकारी दिए ।
परियोजनामा सानी बहिनी, ठूली दिदी, विद्यालय, अभिभावक समूह, सामुदायिक सिकाइ केन्द्रलगायत संयन्त्र निर्माण गरी मुख्य गतिविधि सञ्चालन गरिएको डेक नेपालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्