नेपालगन्ज कारागारका कैदी बन्दीको क्षयरोग परीक्षण गर्न थालियो



नेपालगन्ज ।

बाँकेस्थित नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीको क्षयरोग परीक्षण गर्न थालिएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको कारागारमा क्षयरोगको जोखिम हुन सक्ने भएकाले सबैको क्षयरोग परीक्षण गर्न थालिएको हो ।

कारागारका जेलर रामकुमार सोनकरका अनुसार हप्तामा तीन दिनभरि र भेटघाटको दिन बिहान ८ देखि १० बजेसम्म क्षयरोगको जाँच भइरहेको छ । ‘नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले क्षयरोगको जोखिम हुन सक्ने भएकाले जाँच सुरु गरेका हौं,’ उनले भने, ‘सबै कैदीबन्दीको क्षयरोग परीक्षण हुन्छ ।’

अहिले नेपालगन्ज कारागारमा आठ सय १५ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । मंगलबारसम्म ५२ जनाको परीक्षण गर्दा एकजनामा क्षयरोग देखिएको थियो ।

जाँचको क्रममा कैदीबन्दीमा क्षयरोग देखिएमा कैदीबन्दीलाई छुट्टै राखेर उपचार गर्ने रणनीति बताइएको जेलर सोनकरले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २२ गते बुधबार