कांग्रेसको १४औँ महाधिवेशनः केन्द्रीय सदस्यमा बाँकेबाट आधा दर्जन आकांक्षी



कोहलपुर ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय सदस्यका लागि बाँकेबाट आधा दर्जन नेताहरु आकांक्षी देखिएका छन् । महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

मंगलबारसम्म संस्थापन (देउवा) पक्षबाट पाँचजना र संस्थापनइतर (कोइराला-पौडेल) पक्षबाट एकजनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् ।

संस्थापन पक्षबाट पूर्वमन्त्री एवम् कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाल, पूर्वसांसद आशा विक र मैकुलाल बाल्मिकी, दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण विक रसाइली र लुटबहादुर खत्रीले आकांक्षा देखाएका हुन् ।

संस्थापनइतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन् । पूर्वमन्त्री हमालले संस्थापनका तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यका लागि आकांक्षी देखिएका छन् ।

कोइरालाले केन्द्रीय सदस्य (महिला)मा लड्ने आकांक्षा राखेकी छिन् । यस्तै रसाइलीले (दलित पुरुष) केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने आकांक्षा राखेका हुन् । पूर्वसांसद बाल्मिकी पनि (दलित पुरुष) बाट केन्द्रीय सदस्यको आकांक्षी छन् । पूर्वसांसद आशा (दलित महिला) बाट केन्द्रीय सदस्यको आकांक्षी छिन् ।

नेपाली कांग्रेसको विधानअनुसार दलित कोटाबाट एकजना सह–महामन्त्रीसहित पुरुष पाँच र महिला चारजना निर्वाचित हुने व्यवस्था छ । पूर्वमन्त्री हमालले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै देउवा (संस्थापन) प्यानलबाट केन्द्रीय सदस्यमा आफूलाई उम्मेदवार बनाउन नेताहरु लागेको जानकारी दिए ।

‘लुम्बिनी प्रदेशबाट तपाईं हाम्रो टीमको उम्मेदवार बन्नुपर्छ भनेर केन्द्रका नेताहरुले मलाई भन्नुभएको छ,’ उनले भने, ‘मलाई केन्द्रीय सदस्य बनाउन धेरै नेता र कार्यकर्ताको चाहना छ ।’ यस्तै अर्का आकांक्षी कोइरालाले संस्थापनइतर पक्षबाट केन्द्रीय सदस्य (महिला) मा चुनाव लड्ने तयारी गरिरहेको बताइन् ।

‘मैले परिस्थिति हेरिरहेकी छँु, टीमका नेताहरुबाट राम्रै प्रतिक्रिया आइरहेको छ, टीमका सबै नेताहरु एक भइदिए हुन्थ्यो,’ उनले भनिन् । केन्द्रीय सदस्यको आकांक्षी आशाले चारजना दलित (महिला) कोटामा आफू पनि पर्ने सम्भावना रहेको दाबी गरिन् ।

‘दलित महिला कोटाबाट केन्द्रीय सदस्य लड्ने मेरो आकांक्षा छ, पार्टीको चुनाव हो, नेताहरुले कसरी मिलाउनु हुन्छ, त्यसमा भर पर्छ र मेरो सम्भावना बलियो नै छ,’ उनले भनिन् । यसैगरी अर्का आकांक्षी रसाइलीले कांग्रेस निकट दलित संघबाट पदीय हिसाबले आफू सिनियरमा चौथो नम्बर भित्रपर्ने भएकाले केन्द्रीय सदस्य (दलित पुरुष) को उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताए ।

‘म अहिले दलित संघको केन्द्रीय उपाध्यक्ष पनि हुँ, नेताहरुले मिलाए भने म पहिलो नम्बरमै पर्छु,’ उनले भने । केन्द्रीय सदस्यका आकांक्षी रहेका पूर्वसांसद बाल्किमीले पनि (दलित पुरुष) कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने आफ्नो आकांक्षा रहेको बताएका छन् ।

‘दलित पुरुषको कोटाबाट पाँचजना निर्वाचित हुने व्यवस्था छ, म पनि त्यसभित्र पर्ने विश्वास गरेको छुँ,’ उनले भने, ‘मलाई सबै नेताहरुले आश्वासन दिइसक्नु भएको छ, एकजना मधेसी दलितलाई पनि समावेश गर्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुहुन्छ ।’

यस्तै खत्रीले संस्थापन पक्षबाट अपांगता कोटामा केन्द्रीय सदस्य पदमा आकांक्षा देखाएका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै पार्टीको राजनीतिमा लागेका उनलाई यसअघि कांग्रेसले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार पनि बनाएको थियो । आफू अपांगता कोटाबाट केन्द्रीय सदस्यका लागि आकांक्षी रहेको खत्रीले जानकारी दिए ।

‘म नेपाली कांग्रेसको महाधिवेशनमा संस्थापन पक्षबाट अपांगता कोटामा केन्द्रीय सदस्यको आकांक्षी हुँ,’ उनले भने, ‘चुनावको तयारीका लागि म काठमाडौं पुगिसकेको छुँ, नेताहरुले मलाई उम्मेदवार बनाउनु हुनेछ भन्नेमा म विश्वस्त छँु ।’

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २२ गते बुधबार