नेकपा विप्लव समूहद्वारा बाँकेमा राखिएका अवैध नदीजन्य पदार्थ कब्जाको घोषणा



तिलक गाउँले । नेपालगन्ज ।

युवा संगठन नेपाल बाँकेले राप्ती नदी आसपासमा स्टक (सञ्चित) प्रमाणित नगरी राखिएका नदीजन्य पदार्थहरु कब्जा गरेको घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल बाँकेले स्टक प्रमाणित नगरी राखिएका नदीजन्य पदार्थहरु कब्जा गरेको घोषणा गरेको हो ।

मंगलबार राप्ती नदी आसपासमा भण्डारण गरिएका नदीजन्य पदार्थमा युवा संगठनका नेता कार्यकर्ताले झण्डा गाडेर आफूहरुले अवैध नदीजन्य पदार्थ कब्जा गरेको घोषणा गरेका हुन् । नेकपा बाँकेका अध्यक्ष दीपक बुढाको नेतृत्वमा ठूलो संख्यामा पुगेका नेता कार्यकर्ताहरुले स्टक प्रमाणित नगरी राखिएका नदीजन्य पदार्थहरु कब्जा गरेका थिए ।

राप्तीसोनारी गाउँपालिका–६ टेपरीमा बिष्णु रिमाल र बाबु सिंह ठकुरीले भण्डारण गरी राखेको हजारौं घनमिटर नदीजन्य पदार्थ झण्डा गाडेर कब्जामा लिएको युवा संगठन नेपाल बाँकेका संयोजक पूर्ण रसाइली (रक्तिम) ले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा मुकेश खड्काले भण्डारण गरी राखेको हजारौं घनमिटर ढुंगा गिटी र बालुवासमेत कब्जामा लिइएको छ । राप्तीसोनारी–४ लालपुरमा रहेको एक क्रसरमा उद्योगमा समेत झण्डा र ब्यानर गाडेर कब्जा लिइएको संयोजक रक्तिमले बताए ।

बाँकेमा राप्ती नदीको आसपासमा र विभिन्न सामुदायिक वनहरुमा हजारौं घनमिटर नदीजन्य पदार्थहरु स्टक प्रमाणित नगरी लुकाएर राखिरहेको अवस्था रहेको बताउँदै युवा संगठनका नेता डिबी शाहीले यसरी राखिएको सम्पूर्ण नदीजन्य पदार्थ जनताको सम्पत्तिको रुपमा घोषणा गरिनुपर्ने बताए ।

जिल्लामा खोला र नदी आसपासका क्षेत्रका सञ्चालनमा रहेका क्रेसर उद्योगहरुले नदीजन्य पदार्थहरु अवैधरुपमा प्रयोग गर्ने गरेका छन् । नदीजन्य पदार्थको ठेक्काप्रक्रिया अझै सुरु नहुँदा स्थानीय जनप्रतिनिधि, प्रशासन र प्रहरीकै संरक्षणमा अहिले नदीहरुमा अवैध उत्खनन भइरहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले बालुवाको थुप्रोको झण्डा गाडेको भन्ने खबर आएको बताए । ‘फत्तेपुरतिर बालुवाको थुप्रो जनताको हुनुपर्छ भनेर झण्डा गाडेको भन्ने कुरो आएको छ,’ उनले भने, ‘यसबारे थप बुझ्न मातहतका चौकीहरुलाई निर्देशन दिएका छौं ।’

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २२ गते बुधबार