लुम्बिनीमा महानगर तीन बनाउने योजनाः योजना बन्यो तर, कार्यान्वयन भएन



कोहलपुर ।

नेपालगन्ज र कोहलपुरलाई मिलाएर महानगर बनाउने चर्चा पनि केही वर्षदेखि चलिरहेको छ । नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगरले महानगर बनाउन नगरसभाबाट प्रस्तावसमेत पारित गरेको बताइन् । अब पूर्वाधारका लागि डीपीआरको गराउने योजनामा रहेको बताइन् ।

आर्थिक वर्ष २०७५-०७६ मा साविकका बुटवल–भैरहवा, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरलाई महानगरको रुपमा विकास गर्ने भन्दै नीति तथा कार्यक्रममा समावेश भएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रममै प्रमुख तीन सहरी क्षेत्रलाई महानगरको रुपमा विकास गर्ने उल्लेख गरेको छ । तर अहिलेसम्म त्यसबारे ठोस काम हुन सकेको छैन ।

योजना निर्माण भए पनि कार्यान्वय नहुँदा महानगर यात्रा अन्योलता देखिएको छ । खासगरी प्रदेश सरकारले महानगरपालिका बनाउन चाहेको ठाउँमा धेरै पूर्वाधार अहिले नै तयार भएको जानकारहरु बताउँछन् ।

सरकारले महानगरका लागि तीन लाख जनसंख्या, पाँच सय शैयाको विशेषज्ञ अस्पताल, रंगशाला, विमानस्थल, टर्मिनलसहितको बसपार्क, प्राविधिक शिक्षालय, तरकारी थोक बजार केन्द्रलगायतका मापदण्ड राखेको छ । ती मापदण्डहरु यहाँ महानगरका लागि प्रस्ताव गरिएका तीनै सहरमा विद्यमान रहेको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।

अहिले लुम्बिनी प्रदेशमा चारवटा उपमहानगरपालिका छन् । ती उपमहानगरपालिका स्थानीय तहमा जनप्रतिनिधि आउनु अगावै घोषणा भइसकेका हुन् । संघीय सरकारले महानगरजस्तै मेगा सिटीको अवधारणा अघि सारेपछि अन्योल बढेको प्रदेश सरकारका प्रवक्ता एवम् मन्त्री कृष्णध्वज खड्काले बताए ।

उनले आफूहरु नीति तथा कार्यक्रमअनुसार अगाडि बढ्ने भए पनि संघीय सरकारले यसबारे प्रक्रिया अघि बढाउने योजना थाहा पाएपछि केही अन्योल र विलम्ब भएको बताए । यस्तै ग्रामीण तथा सहरी विकास मन्त्रालयका प्रवक्ता ध्रुव धितालले संघीय सरकारले सुरु गर्ने भएपछि प्रदेशले प्रक्रिया अगाडि बढाउन नपरेको बताए । उनले जुन सरकारले गरे पनि काम एउटै भएकाले दोहोरो काम गरिरहन आवश्यक नभएको बताए ।

प्रदेशको क्षमताले महानगर बनाउन नसकिने, सम्भाव्यता अध्ययनका लागि विज्ञता नभएकाले यसको सबै काम संघीय सरकारले गर्ने र समन्वय मात्र प्रदेश सरकारले गर्ने उनको भनाइ छ ।

स्थानीय सरकारको आफ्नै तयारी

तीन वर्षदेखि चर्चामा आएको महानरपालिकाको विषयलाई लिएर स्थानीय सरकारले पनि आआफ्नै तयारी गरेका छन् । खासगरी जनप्रतिनिधिहरुले आफ्नै पालामा महानगरको काम सुरुवात गर्न चाहेका छन् ।

नेपालगन्ज र कोहलपुरलाई मिलाएर महानगर बनाउने चर्चा पनि केही वर्षदेखि चलिरहेको छ । नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगरले महानगर बनाउन नगरसभाबाट प्रस्तावसमेत पारित गरेको बताइन् ।

अब पूर्वाधारका लागि डीपीआरको गराउने योजनामा रहेको बताइन् । महानगर भएपछि विकास, नागरिकको अवसर बृद्धिलगायत धेरै सम्भावना रहने भन्दै यसलाई छिटो कार्यान्वयन गर्न आफूहरुको तर्फबाट प्रयास भइरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०७८ मंसिर २१ गते मंगलबार