ओमिक्रोनको त्रासः जमुनाह नाकामा थप कडाइ



नेपालगन्ज ।

नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा भारतबाट आउनेहरुलाई थप कडाइ गनर्न थालिएको छ । अफ्रिकी मुलुकहरुमा कोभिड–१९ (कोरोना भाइरस) को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रमा कडाइ गरेको हो ।

योसँगै लुम्बिनी र सुदूरपश्चिम जिल्लामा स्थानीय प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गरेका छन् । नेपालगन्जको जमुनाहा नाका, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुलघाट नाकामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएका छन् ।

स्थानीय प्रशासनले नेपाल भित्रिने यात्रुहरुको पीसीआर रिर्पोट र दुवै डोज खोप लिएको कार्डलगायतका कागजपत्र अनिवार्यरुपमा हेर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतबाट नेपाल प्रवेश गर्ने सबै नागरिकहरुले कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्र नेपाल प्रवेश गर्न दिने, अन्यथा नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई चलाख रहन भनिएको पनि उनले बताए । त्यहीअनुसार कर्मचारीहरुले भारतबाट भित्रिने नेपालीहरुले दोस्रो डोज खोप लगाएको कार्ड देखाए पनि एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १७ गते शुक्रबार