कोहलपुर नगरपालिका– ३ को कार्यालय आफ्नै भवनमा



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को आफ्नै कार्यालय भवन निर्माण भएको छ । वडा स्थापनादेखि नै भाडाको घरबाट सेवा दिँदै आइरहेको कार्यालय भवन वडाकै विकास नगरमा निर्माण भएको हो ।

वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले कोहलपुरका सबै वडाहरुले केही महिनाभित्रै आफ्नै भवनबाट सेवा सुरु गर्ने दाबी गरे ।

‘कोहलपुर नगरपालिकाको कार्यालयसमेत पहिले भाडाकै घरबाट सञ्चालनमा रहेको थियो,’ नगर प्रमुख रावतले भने, ‘हामी आएपछि आफ्नै भवन निर्माण गरेर अहिले आफ्नै भवनबाट सेवा दिइरहेका छौं ।’ कोहलपुरका केही वडाहरुले आफ्नै भवनबाट वडा कार्यालय सञ्चालन गरिसकेको बताउँदै उनले केही वडाहरुका भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

‘यस अघिसमेत नगरका केही वडाहरुले आफ्नै अत्यधुनिक भवनबाट सेवा सुरु गरिसकेका छन्,’ नगर प्रमुख रावतले भने, ‘बाँकी रहेका वडाहरुमा समेत भवन बनिरहेका छन् । केही महिनाभित्रैबाट ती भवनहरुमा वडा कार्यालयको कामकाज सुरु हुन्छ ।’ सो अवसरमा उनले कोहलपुर नगरपालिकामा आफूहरु आएपछि विकास निर्माणका कामहरुले फड्को मारेको दाबी गरे ।

नगरभित्रका सबै वडाहरुमा समानरुपले बजेट विनियोजन गरेर सकेसम्म सबै क्षेत्रहरुलाई समेटेर अगाडि लगिएको नगर प्रमुख रावतले बताए । ‘हामी निर्वाचित भएर आएपछि कोहलपुरमा थुप्रै विकास निर्माणका काम अगाडि बढेका छन्,’ उनी भन्छन्, ‘हामीले गरेका कामहरु फिल्डमा गएर हेर्दा पनि थाहा हुन्छ ।’ भवन उद्घाटन समारोहमा बोल्दै वडा नम्बर–३ का अध्यक्ष माधव रिजालले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा भएको भन्दै आफ्नै भवनबाट वडा कार्यालयले सेवा सुरु गरेको बताए ।

भर्खरै सम्पन्न भएको वडा कार्यालय भवन पाँच कोठाको रहेको बताउँदै उनले आगामी दिनमा अन्य संरचना आवश्यक भएमा निर्माण गर्ने खाली स्थान रहेको जानकारी दिए ।

‘वडा कार्यालयले अबदेखि आफ्नै भवनबाट वडावासीलाई सेवा दिन्छ,’ वडाअध्यक्ष रिजालले भने, ‘यसले पक्कै पनि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई सहज हुन्छ ।’ वडाको विकासमा कतिपय बेला राजनीतिक दलबाट सहयोग हुने गरेको गुनासो गर्दै उनले वडाको विकासका लागि सबै राजनीतिक दलहरुलाई साथ दिनसमेत आग्रह गरे ।

‘वडाको विकासमा राजनीतिक दलहरुले साथ दिइरहनुभएको छ,’ उनले भने, ‘केही योजनाहरुमा सोंचेको जस्तो साथ पाउन सकिएको छैन । साथ दिनुहुन्छ भन्ने मैले आशा राखेको छुँ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार