जब अर्को जहाजले आकाशमा फन्को लगाउन थाल्यो…



चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार बाजुराको कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको।

बाजुराको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएको जहाज आकाशमा उडिरहेको थियो। विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा यात्रु भरिन थाले। तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन।

जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थाले। विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भनेर यात्रु एकापसमा कुरा गरिरहेका थिए।

त्यसैबेला एक जना यात्रुले धावन मार्गतिर हेर्दै भने, ‘विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ।’

त्यो जहाज थियो तारा एयरलाइन्सको । सो जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्को जहाज अवतरण गर्न सकिरहेको थिएन। जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीइको जहाजलाई यात्रुले धकेलेर सुरक्षित स्थानमा राखेपछि अर्को जहाज अवतरण भयो।

तारा एयरलाइन्सको उक्त जहाजको टायर पड्किएर धावनमार्गको बीचमा बसेको थियो। सो जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कोल्टीबाट धनगढी जाने यात्रु खगेन्द्र खड्काका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो। ‘तारा एयरको जहाज धावन मार्गमा हुँदा अर्को जहाज उडाउन समस्या भएपछि हामीले धकेलेर उक्त जहाजलाई साइड लगाएका हौँ,’ उनले भने।

खड्काका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा धावनमार्गबाट धकेलेर जहाज हटाइएको हो।

धावनमार्गबाट जहाज हटाएपछि आफू बुधबार नै अर्को जहाज चढेर धनगढी पुगेको उनले बताए। जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएका थिए।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीइ जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो।

जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको कम्पनीले जनाएको छ। रासस

प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार