लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रीनिङ एण्ड डाइग्नोस्टिक सेन्टर स्थापना हुने भएको छ । अस्पतालमा करिब १० करोड रूपैयाँ लागतमा क्यान्सर स्क्रीनिङ एण्ड डाइग्नोस्टिक सेन्टर स्थापना हुन लागेको हो ।
रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत रोटरी क्लब अफ बुटवलले मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रीनिङ सेन्टर स्थापना गर्दैछ । विशेषगरि महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलोपटक क्यान्सर स्क्रीनिङ सेन्टर स्थापनाका लागि अस्पतालसँग सम्झौता भइ प्रक्रिया अघि बढेको हो ।
‘यो करिब १० करोड रूपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे दुई करोड लगानी हुँदैछ,’ क्लबका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले भने, ‘क्लबले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै अन्य तीनवटा योजना पनि अगाडि बढाएको छ ।’
क्लबले रक्त सञ्चार सेवा केन्द्र बुटवलसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोबाइल भ्यान पनि सञ्चालन प्रक्रिया पनि अघि बढाएको क्लबका सचिव खिमनारायण पराजुलीले जानकारी दिए । करिब ६५ लाख रूपैयाँको लागतमा भारतबाट भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको पराजुलीले बताए ।
मोबाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै रगत सुरक्षितरुपमा संकलन गरेर निश्चित तापक्रममा राख्न सकिने व्यवस्थासमेत रहेको छ । क्लबले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि शुरु गर्दै छ ।
करिब ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रूपैयाँ लगानी गर्ने छ । क्लबले गरिब तथा विपन्न समुदायको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम पनि अगाडि बढाउने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्