अबको केही दिन देशका धेरै ठाउँमा मौसम बदली हुने सम्भावना भएको बताइएको छ । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद्ले बताएका हुन् ।
यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । आज सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने उनले बताए ।
‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने छ,’ उनले भने, ‘न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम र पश्चिमी क्षेत्रमा धेरै पर्ने सम्भावना देखिन्छ ।’
पोखरा, जुम्ला, डडेलधुरा, दीपायल, सुर्खेतलगायतका क्षेत्रमा आज पानी पर्ने अनुमान गरिएको छ ।
मध्य र पूर्वी क्षेत्रमा पानी नपरे पनि मौसम भने बद्ली हुने मौसमविद् पौडेलले बताए । मंगलबार बाँकेमा बिहानपख हुस्सु लागे पनि दिउँसो भने घाम लागेको थियो । यस्तै, न्यूनतम र अधिकतम तापक्रम घट्न थालेसँगै देशैभर चिसो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्