नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा थापा



नेपालगन्ज ।

नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । बाँकेस्थित नेपालगन्जमा मंगलबार भएको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो ।

भेलाले थापाको नेतृत्वमा तीन सय तीन सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा सम्सुद्दिन सिद्दिकी, भद्रप्रसाद देवकोटा, सचिवमा दीपक जीएम, सहसचिव किशोर थापा, भगवती अधिकारी र कप्तान पाठक रहेका छन् ।

भेलाले कार्यालय सचिवमा लक्ष्मण गौतमलाई चयन गरेको छ । पदाधिकारी तथा सदस्यहरुलाई समाजवादीका पोलिट ब्यूरो सदस्य दलबहादुर सुनारले सपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै उनले जिल्ला कमिटीलाई जिल्लामा पार्टीलाई बलियो बनाउन लागि पर्नका लागि आग्रहसमेत गरेका थिए ।

यसअघिका जिल्ला अध्यक्षको समेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज अशोक कोइरालाले कार्यभार नयाँ कार्य समितिका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७८ मंसिर १५ गते बुधबार