बर्दिया कांग्रेसमा देउवा समूहको प्यानल विजयी



बर्दिया ।

नेपाली कांग्रेस बर्दियामा संस्थापन पक्ष (देउवा)को प्यानल नै विजयी भएको छ । सोमबार भएको निर्वाचनमा जिल्लामा सभापतिमा संस्थापन पक्षका अरुणप्रकाश सिंह राठोर विजयी भए । जिल्ला कार्यसमितिमा राठोरको प्यानल नै विजयी भएको बताइएको छ ।

सभापतिमा निर्वाचित राठोरले आठ सय ७० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी भुवनेश्वर चौधरीले ६ सय ७८ मत प्राप्त गरे । चौधरीभन्दा एक सय ९२ मत बढी प्राप्त गरी राठोर विजयी भएका हुन् ।

पराजित हुने चौधरी नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सांसद हुन् । जिल्ला कार्य समितिको निर्वाचनमा एक हजार ६ सय २५ मतदातामध्ये एक हजार पाँच सय ७८ म खसेको थियो । बर्दिया क्षेत्र नम्बर १ मा संस्थापनइतर पक्ष (पौडेल÷कोइराला) बलियो देखिए पनि पूरै प्यानलले नै पराजय भोग्नु प¥यो ।

नवनिर्वाचित जिल्ला सभापति राठोरले दुवै पक्षलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताएका छन् । ‘नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा पक्ष वा विपक्ष भइ प्रतिस्पर्धा ग¥यौं,’ उनले भने, ‘अब पक्ष वा विपक्षमा विभाजित नभई सिंगो नेपाली कांग्रेस पार्टीका हौँ ।’ उपसभापतिमा गोविन्दप्रसाद थारुले आठ सय ६०, सोदे विष्टले आठ सय ५९ मत प्राप्त गरी विजयी भए ।

उनीहरुका प्रतिस्पर्धी तिलकबहादुर बुढाक्षेत्रीले ६ सय १४ र सुभाषकुमार पोखरेलले ६ सय मत ल्याए । सचिवमा जग्गा प्रसाद पाण्डेले आठ सय २९, मिनराज चौधरी आठ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी दीपकराज तिमिल्सेना ६ सय ६३ र सुधांशु प्रकाश शर्मा (लालु) ६ सय ५३ मत ल्याई पराजय भएका छन् ।

सहसचिवमा तिलकराम लम्सालले ९ सय ५३ र मेकबहादुर गुरुङले आठ सय ९२ मत प्राप्त गरी विजयी भएका थिए । उनीहरुका प्रतिस्पर्धी विनोद राय यादवले पाँच सय ७३ र युगपति पौडेलले पाँच सय ७० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १५ गते बुधबार