कुपिण्डेमा पानीको सतह बढ्यो



सल्यान ।

सल्यानमा रहेको चर्चित कुपिण्डे तालमा पानीको सतह ५२ फिट बढेको छ । यस क्षेत्रकै प्रमुख पर्यटकीयस्थल कुपिण्डे ताल आठ वर्षपछि भरिएको हो ।

२१ वर्षअघि कैलु बराहको मन्दिरसम्म भरिएको तालको सतह त्यसपछिका वर्षमा भने क्रमशः घट्दै गएको थियो । ताल पुरिँदै जाँदा ताल वरपरको करिब दुई सय मिटरभन्दा बढी भागमा पानी थिएन ।

ताल संरक्षण र यस वर्ष पछिसम्म भएको वर्षका कारण पानीको सतह बढेको बताइएको छ । यो वर्ष तालमा करिब ५२ फिट पानीको सतह बढेको स्थानीय कुलबहादुर पुरीले जनाए । अहिले कुपिण्डे ताल भरिएर पानीको सतह मन्दिरको छेउसम्म पुगेको छ । तालमा पानीको मात्रा बढेसँगै पर्यटकका लागि निर्माण गरिएको प्रतीक्षालयसमेत डुबेको स्थानीयहरु बताउँछन् ।

तालमा पानी भरिएर आकर्षक भएपछि अहिले ताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको स्थानीय पुरीले बताए । उनका अनुसार अहिले कैलु बराहको मन्दिर पुग्न डुंगाको सहायता लिनुपर्दछ ।

अहिले दैनिक करिब दुई सयजना आन्तरिक र बाह्य पर्यटक कुपिण्डे ताल पुग्छन् । पर्यावरणीय, भौगोलिक भूबनावट आदिले कुपिण्डे ताल आकर्षक रहेको लेखक तथा पत्रकार कृष्णमुरारी भण्डारी बताउँछन् । ‘पहिलोपटक घुम्न आउँदा रमाइलो लागेको छ, तालको संरक्षण भए पनि प्रचारप्रसारको अभाव देखिएको छ,’ उनले भने, ‘सुन्दर र रमणीय तालको प्रचासप्रसार गर्न आवश्यक छ ।’

बर्सेनि ताल पुरिँदै जान थालेपछि गत वर्ष डिभिजन वन कार्यालय सल्यानले दक्षिण भागका दुईवटा खोलामा गल्छी निर्माणसँगै तारजालीमार्फत पानीको रोकथाम गरेको थियो । डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले तालको संरक्षण गर्न यसै वर्ष पनि ताल वरपरका खोलामा तटबन्ध निर्माण, वृक्षारोपण, स्थानीय नागरिकलाई सचेतीकरण गर्नेलगायतका काम भइरहेको जनाए ।

वर्षमा तीनपटक रङ फेर्ने सो ताल २३ दशमलव ५३ हेक्टर क्षेत्रमा फैलिएको छ । तालको लम्बाइ ८३४ मिटर, चौडाइ २५० मिटर र गहिराइ ३४ मिटर छ । ताल घुम्न झन्डै दुई दर्जन डुंगा सञ्चालनमा छन् । ताल घुम्न सुर्खेत, जाजरकोट, दैलेख, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको गर्छन् ।

प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार