पाटेबाघ गणना गरिँदै



कोहलपुर ।

नेपालका राष्ट्रिय निकुञ्जमा मंसिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट
गरिनेछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिने जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा गणनाको शुभारम्भ गरिने बताइएको छ ।

क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई÷दुई ग्रीडअर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्नेछ । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाँडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो ।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो संख्या बढेको अनुमान गरिएको छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्यांक थियो । दोब्बरभन्दा बढी संख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त रहेका छन् । नेपालमा हरेक चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

झाँडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार