नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीले निर्वाचन केन्द्रित योजना सार्वजनिक गरेको छ । भर्खरै दोस्रो नगर सम्मेलनमार्फत सर्वसहमतिमा नेतृत्व चयन गरेको माओवादी केन्द्रले आसन्न तीन तहका निर्वाचन केन्द्रित योजना सार्वजनिक गरेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्र कोहलपुरले राजनैतिक र वैचारिक काम शीर्षकमा विभिन्न १६ बुँदे योजना सार्वजनिक गरेको छ । अध्यक्ष अवराज खड्काका अनुसार स्कुलिङ पार्टी प्रशिक्षण, नगरदेखि सेल कमिटीको क्यालेन्डर तयार गर्ने, जनवर्गीय संगठनलाई व्यवस्थित गरिने, सहिद र बेपत्ता परिवारको लागि राहत र संरक्षणको बारेमा योजना बनाइने र युवाहरुलाई स्वरोजगार र व्यावसायिक बनाउन ध्यान दिइने रहेको छ ।
यस्तै घाइतेको उपचारको प्रबन्ध मिलाउने, पूर्व जनमुक्ति सेनाको छुट्टै कमिटी बनाइ संगठित गरिने, कोहलपुरको विकासको लागि सार्वजनिक पार्टीसँग सहकार्य गरी ठोस प्रस्ताव तयार गरी प्रदेश र संघीय सरकारसँग माग गरिने तथा नापी, मालपोत यातायात र सीटीइभिटीको कार्यालय स्थापनाका लागि थप पहलकदमी लिइने उनले बताए ।
यसैगरि सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा धनी प्रमाण पूर्जा वितरणका लागि संघीय सरकारसँग माग गर्ने अध्यक्ष खड्काले उक्त अवसरमा जानकारी दिए ।
पार्टी संगठन बलियो बनाउने योजनासमेत समेटेको माओवादी केन्द्र पार्टी कमिटीको बैठकमा नियमित तीनपटक अनुपस्थित हुने सदस्यलाई कमिटीबाटै हटाउने, कार्यसूचि तयार गरी संगठनको काममा परिचालन गरिने, कोहलपुरमा रहेको नेताहरुको कार्य विभाजन गरी जिम्मेवारी दिएर परिचालन गर्नेदेखि पार्टीको संगठित र क्रियाशिल नेता कार्यकर्ताहरुको लेबी र ऐच्छिक लेबी नियमित मासिकरुपमा उठाउने, पार्टी कमिटीलाई एकरुपतामा ल्याइने र कोहलपुर क्षेत्रमा रहेको पार्टी सदस्यहरुको सम्पूर्ण विवरण व्यवस्थित बनाइ तथ्यांक तयार गरिने रहेका छन् ।
‘हामी सम्पूर्णरुपमा निर्वाचन केन्द्रित भएका छौं । कोहलपुरमा नम्बर १ पार्टी बनाउन हाम्रो निरन्तर अभियान सञ्चालन हुनेछ । यो हाम्रो निर्वाचन केन्द्रित अभियानको हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्