मेची–महाकाली अभियान: कान्छा साइकलयात्री दाङमा



शिवु खनाल । दाङ ।

मेची–महाकालीसम्म साइकल अभियानको यात्रामा निस्केका कञ्चनपुरस्थित बेलौरी नगरपालिका–६ भुराकोटका रमित भट्ट दाङको लमही आइपुगेका छन् । साइकल यात्री भट्ट नौ दिनपछि सोमबार लमही पुगेका हुन् । यात्रामा उनी मात्र होइन, रमितलाई उर्जा र उत्साह थप्न बुवा दीपक पनि सँगसँगै साइकिलिङमा छन् ।

मेचीदेखि सुरु गरेको साइकल अभियान महाकाली पुगेपछि अन्त्य गर्ने उनी बताउँछन् । ‘स्वास्थ रहऔँ, अमूल्य जीवन खेर नफालौँ, कूलतमा नफसौँ, स्वास्थ्य, पर्यावरण र पर्यटनको निम्ती साइकल’ भन्ने नाराका साथ मेची–महाकाली अभियानमा निस्केको रमित बताउँछन् । भट्टलाई सानै उमेरदेखि मेचीदेखि महाकालीसम्म साइकल यात्रा गर्ने चाहाना थियो । भट्टको बुवा नेपाली सेनाबाट निवृत्त भएपछि उनी मेची–महाकाली अभियानमा उत्रिएको भट्टले बताए ।

यात्राको क्रममा पूर्व–पश्चिम राजमार्गमा पर्ने विभिन्न सहर तथा बजारमा भट्टको समूहलाई विभिन्न संघसंस्थाले स्वागत, सत्कार तथा अभिनन्दन गरेका थिए । उनले भने, ‘यात्राभरि हामीले धेरै स्नेह र माया पायौँ । अहिले यात्रा पूरा हुने क्रममा मन साह्रै आनन्दित भइरहेको छ । मसँग मेरो बुवा पनि साइकल यात्रामै हुनुहुन्छ ।’

११ वर्षीय रमितको सपना पूरा गर्न छोरासँगै मेची–महाकाली साइकल यात्रामा निस्किएको बुवा दीपकले बताए । उनले, ‘भर्खरै नेपाली सेनाबाट निवृत्त भएर घरमा बसेको थिए । छोरा रमितको साइकलमा मेचीदेखि महाकाली यात्रा गर्ने इच्छा थियो । त्यही सपना पूरा गर्न छोरासँगै यात्रामा हिँडेको छुँ ।’

‘छोराले साइकिलिङमा आफ्नो भविष्य देखेको छ,’ रमितका बुवा दीपकले भने, ‘छोराको उद्देश्य पूरा गर्न मेरो पूर्ण साथ सहयोग रहन्छ ।’ जुनसुकै आमाबुवाको सपना नै सन्तानको भविष्यका लागि भएकाले पनि छोराको साइकिलिङ यात्रामा बाधक नहुने उनको भनाइ छ ।

मेची–महाकाली साइलक यात्राको क्रममा भट्टलाई साइकलमा सवार मकवानपुर साइकिलिङ समूहको सदस्य विवेक लामाले पनि सहयोग गरेका छन् । लामाले हेटौंडाबाट महाकालीसम्म सँगै यात्रा गरेर सहयोग गरेको रमितको भनाइ छ ।

दाउन्नेको धुलो र बर्दियाको बाघ

मेची–महाकाली साइकल यात्राका क्रममा दाउन्नेको उकालोमा धुलो र अफ्ठ्यारो बाटोका कारण भट्टले आफूलाई केही समस्या भएको बताएका छन् । पश्चिममा प्रवेश गरेपछि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पनि जोखिम भएको उनी बताउँछन् ।

उक्त निकुञ्जमा बाघले आक्रमण गर्ने सक्ने त्रास भएको उनले बताए । ‘पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देखिन थालेको छ,’ उनले भने, ‘साइकलमा यात्रा गर्दै गर्दा आक्रमण गर्छकी भन्ने त्रास छ ।’

निकुञ्ज क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिन उनको अनुरोध छ । रमितले कीर्तिमान कायम गर्न लक्ष्य राखेका छन् । मेची–महाकाली यात्राका साइकल अभियानमा निस्केका उनी नेपाल कै कान्छा साइकल यात्री हुन ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार