बाँकेमा बेमौसमी वर्षाको असर: करिब दुई अर्बको धानमा क्षति



कोहलपुर ।

कात्तिक सुरुमै भएको बेमौसमी वर्षाले बाँकेमा लगाइएको आधा धानबालीमा क्षति पु¥याएको छ । करिब २० हेक्टर क्षेत्रफलमा लगाएको धानबाली बेमौसमी पानीले नोक्सानी गरेको हो ।

पछिल्लो तथ्यांकअनुसार १८ हजार आठ सय हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

‘यस वर्ष जिल्लामा लगाएको मध्ये आधा धानबालीमा वर्षाले क्षति पु¥यायो,’ उनले भने, ‘मूल्यमा हेर्दा करिब दुई अर्ब रूपैयाँ बढीको धानमा क्षति पुग्यो ।’ १८ हजार आठ सय हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेले आंकलन गरेको छ । ८५ हजार मेट्रिक टन धानको मूल्य जोड्दा एक अर्ब ९७ करोड रूपैयाँ हुन आउँछ ।

दसैंको भोलिपल्टदेखि परेको पानीले काटेर खेतमा राखेको धानमा नोक्सानी पु¥याएको थियो । पाकेर काट्ने भइसकेको धानसमेत हावाहुरीसहितको वर्षाले ढालेपछि उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सबैभन्दा धेरै काटेर खेतमा राखेको धानलाई पानीले क्षति गरेको थियो । जिल्लाका कतिपय किसानहरुको वर्षभरि नै खाने धान नै पूर्णरुपमा क्षति गरिदिएको थियो ।

अहिले धानबालीमा क्षति भएका किसानहरुलाई राहतको लागि सरकारले मापदण्ड बनाएर प्रक्रियाहरु अघि बढाएको छ । ‘अहिलेसम्म कागजातहरु मिलाउने काम भइरहेको छ, स्थानीय तहहरुमा समेत मापदण्ड पुगेको छ,’ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले भने । यो वर्ष समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो ।

खाद्यान्नमध्ये धानबालीमा आत्मनिर्भर रहेको बाँकेमा कात्तिकको पहिलो साता परेको अबिरल वर्षाले ठूलो नोक्सानी पु¥याएको हो । धानको क्षति निकाले पनि परालको क्षति भने निकालेको छैन ।

‘धानकै क्षति निकाल्न लागिएको छ । परालको निकालिएको छैन,’ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले भने, ‘परालमा पनि धेरै बिग्रिएको छ ।’ अहिले खेतबारी हेर्दा किसानले खेतमै थ्रेसर लगाएर परालमा आगो लगाइरहेको देखिन्छ । ‘धान पनि राम्रो भएन र परालसमेत वस्तुले नखाने खालेको छ । घरमा लैजाने र राख्ने दुःख गर्नुभन्दा खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने कुरामा किसान पुगेका छन्,’ बाँके इन्द्रपुरका रहु खाँ भन्छन्, ‘धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् ।’

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १४ गते मंगलबार