चीनमा उपचाररत नेता पुनको स्वास्थ्यमा सुधार, उपचारमा ३ दर्जनबढी चिकित्सक र नर्स संग्लन



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।

गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

उपचार सुरू गरेको चौथो दिनमा स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । उपचारमा ३ दर्जन भन्दाबढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको दुर्लभ प्रकारको जण्डिस ९बिलरुविन० को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निनेजस्ता समस्या सुधार भएको छ ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।

‘आजमात्रै मेरो भिडिओ कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान थाल्नु थालेको, सवैसँग कुरा गर्न थाल्नुभयो अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडिओ कल गर्नुभयो, चिकित्सकले खतरामुक्त भएको छिट्टै नेपाल फर्कनुहुन्छ भनेका रहेछन्, चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ ।

दिसामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो ।’

 

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार