राप्रपा महामन्त्रीमा राणाको उम्मेदवारी



नेपालगन्ज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही मंसिर १५–१७ गते एकता महाधिवेशन गर्दैछ ।

टुक्राटुक्रामा विभाजित राजावादी शक्ति मिलेर बनेको राप्रपाले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । एकता महाधिवेशनमा करिब चार हजार पाँच सय प्रतिनिधि छनोट भइसकेका छन् ।

यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

राजनीतिक दलहरुमा युवा नेतृत्व आउनुपर्ने मुद्दा जबरजस्त उठिरहेका बेला यसपटक राप्रपामा समेत यो मुद्दा उठ्ने पक्का पक्की जस्तै छ । कारण हो, प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देल र नेपालगन्ज उपमहापालिकाका प्रमुखसमेत रहेका डा.धवलशम्शेर राणाले प्यानल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

राप्रपाको केन्द्रीय अध्यक्षको लागि प्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देलले अध्यक्ष र राणाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका हुन् । वर्तमान तीन अध्यक्षमध्ये एक कमल थापा पक्षधर मानिने यी दुई नेताले नेतृत्वको लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिए ।

महाधिवेशनमा दुई युवा नेताले पार्टी नेतृत्वको लागि थापालाई नै कडा टक्कर दिने छन् । थापाले यसअघि नै आगामी नेतृत्वको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले राप्रपामा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तीनैजना यसपटक पनि अध्यक्षका दाबेदार हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार