नेपालगन्ज ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि शुक्रबार बादशाह कुर्मीले सभापति पदमा उम्मेदवारी घोषणा गर्दा संस्थापन पक्षलाई साँझा उम्मेदवार बनाउन हम्मेहम्मे भएको सन्देश दियो ।
संस्थापनबाटै सभापतिमा प्रदेशमन्त्री सुरेन्द्र हमाल, निरञ्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह र राजकुमार बर्मा पनि आकांक्षी छन् । गुटभित्रै आकांक्षीबीच सहमति नहुँदै पूर्वसांसदसमेत रहेका कुर्मीले आफूखुसी उम्मेदवारी घोषणा गर्दा संस्थापन पक्षलाई नेतृत्वका लागि उम्मेदवार टुंग््याउन फलामको चिउरा चपाउनु जस्तै भएको छ ।
संस्थापन समूहले गुटभित्रै मेलमिलापको सन्देश दिन साझा उम्मेदवारी घोषणा गर्न चाहान्थ्यो । तर, कुर्मीको उम्मेदवारीले गुटभित्रै नेतृत्वका लागि हानथाप भइरहेको सन्देश दिएको छ । सभापति पदका आकांक्षी कसैले पनि अडानबाट पछाडि नट्ँदा संस्थापन पक्षलाई सकस भएको छ । सभापतिका आकांक्षी पाँचजनामध्ये कुर्मीले पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कुर्मीले आफू शेरबहादुर देउवाको उम्मेदवार रहेको दाबी गरेका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आइतबारदेखि सुरू हुने भनिए पनि आन्तरिक टीम व्यवस्थापनमा समस्या हुँदा केही पर ढकेलिएको छ ।
पहिलो दिन मतदाता नामावली प्रकाशन, मनोनयन फाराम वितरण गरिएको थियो । सोमबार बिहान ९ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता र साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची थियो । स्रोतका अनुसार दुवै समूहले आआफ्ना प्यानल व्यवस्थापन गर्न नसक्दा र अन्य विषयमा सहमति नजुट्दा जिल्ला अधिवेशन सारिएको हो ।
निर्वाचनका लागि संस्थापतइतर समूहलार्ई पनि उम्मेदवारहरू छान्न भने सकस छ । गुटभित्र नै आकांक्षी धेरै भएपछि उम्मेदवारी छनोटमा समस्या देखिएको ति नेताले बताए ।
सभापतिसहित अन्य पदका लागि सबैभन्दा धेरै संस्थापन पक्षमा देखिएका छन् । सभापतिका आकांक्षी हमालले उम्मेदवारीको विषयलाई लिएर आइतबार आफू पक्षीय नेता कार्यकर्ताहरूसँग छलफल गरेका छन् । सभापतिसहित अन्य पदहरूमा धेरैले आकांक्षा देखाएपछि कसलाई कुन पदमा उठाउने भनेर छलफल भइरहेको संस्थापन पक्षका एक नेताले मिसन टुडेलाई जानकारी दिए ।
संस्थापनइतर समूहले नारायणप्रसाद गौडेललाई सभापति पदमा अगाडि सारेको छ । यो समूहभित्र अन्य पदहरूमा धेरै जनाले दाबी गर्दा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसकेको छैन । ‘सभापतिको लागि टुंगो लागिसकेको छ,’ संस्थापनइतर समूहका एक नेताले भने, ‘अन्य पदहरूमा केही समस्या देखिएको हो । आकांक्षीहरूसँग छलफल गरेर सोमबार बिहानसम्म टुंगो लाग्छ ।’
जिल्लाका आठवटा पालिकामध्ये पाँच पालिकामा संस्थापन पक्ष हाबी देखिएको छ । क्षेत्रीय सभापतिमा पनि संस्थापन पक्षले दुई क्षेत्रमा जित्दा संस्थापन इतर समूहले एक क्षेत्र मात्रै जितेको छ । कांग्रेसको जिल्ला निर्वाचन भोलि मंगलबार हुँदैछ । दुवै समूहले आज (सोमबार) बिहानसम्म उम्मेदवार टुंगो लगाउनु पर्ने बाध्यता छ ।
दाङ सभापतिमा डाँगी
नेपाली कांग्रेस दाङको सभापतिमा संस्थापनइतर पक्षका नेता शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । पहिलो चरणको प्रतिस्पर्धामा उम्मेदवार रहेका चार जनामध्ये कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएपछि दोस्रो चरणको निर्वाचन निश्चित भएको थियो ।
दोस्रो चरणमा प्रवेश गरेका संस्थापन पक्षका उम्मेदवार भूपबहादुर डाँगीले लिखित समर्थन जनाएपछि उनी सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा दुई हजार एक सय ३७ मत खसेकोमा शंकरले सर्वाधिक सात सय ७६ मत ल्याएका थिए भने भूपबहादुरले चार सय ५६ मत ल्याएका थिए ।
दैलेखमा रेग्मी विजयी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला सभापतिमा पौडेल समूहका मणिराम रेग्मी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रेग्मीले देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् ।
रेग्मीले सात सय ९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी भण्डारीले सा तसय ५४ मत प्राप्त गरेका थिए ।
कर्णालीको महामन्त्रीमा कोइरालाको दाबी
नेपाली कांग्रेसको कर्णाली प्रदेश महासचिवमा सुर्खेतका युवा नेता गोविन्द कोइरालाले दाबी गरेको छन् । पार्टीलाई नयाँ प्रादेशिक संरचनालाई सही तवरले अगाडि बढाउन भन्दै उनले महामन्त्रीमा दाबी गरेका हुन् ।
कोइराला पञ्चायती व्यवस्थाविरूद्ध सुर्खेतको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्