‘बस्तीबीचमा उद्योग खोल्न पाइँदैन भने जस्तै उद्योगको आसपास निश्चित समयका लागि बस्ती बसाउन नपाइने गरी नीति बनाउन आवश्यक देखिन्छ । त्यसले उद्योग र नागरिकबीच विवाद बढ्दैन,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी
सहरको बीचमा रहेको नेपालगन्ज औद्योगिक क्षेत्र प्रदूषणको कारण भन्दै सधैं आलोचित हुँदै आएको छ । प्रदूषण नियन्त्रणका लागि औद्योगिक क्षेत्रलाई अन्यत्र हटाउनु पर्ने आवाजसमेत नउठेको होइन । तर हटाउन भने सकस छ ।
अहिले बस्ती बीच औद्योगिक क्षेत्र भएको भनिए पनि वास्तविकता भने फरक छ । वरिपरि बस्ती नभएका बेला नेपालगन्ज औद्योगिक क्षेत्र बनेको थियो । २०३० सालमा औद्योगिक क्षेत्र बन्दा वरिपरि घरहरु थिएनन् । थोरैधेरै सडक पूर्वाधार भएको र वरिपरि बस्ती नभएको ठाउँ हेरेर उतिबेला औद्योगिक क्षेत्र निर्माण गरिएको थियो ।
पश्चिमको औद्योगिक विकासका लागि यो औद्योगिक क्षेत्र कोशेढुंगा सावित भएको छ । नेपालमा उद्योग व्यवसायको विकास र व्यवस्थापन गर्न विभिन्न क्षेत्रहरूमा ११ वटा औद्योगिक क्षेत्रहरू स्थापना गरिएका छन् ।
बालाजु औद्योगिक क्षेत्र काठमाडौं, २०१६ हेटौडा औद्योगिक क्षेत्र मकवानपुर, २०२० पाटन औद्योगिक क्षेत्र ललितपुर, २०२० धरान औद्योगिक क्षेत्र धरान, २०२९ नेपालगन्ज औद्योगिक क्षेत्र बाँके, २०३० पोखरा औद्योगिक क्षेत्र कास्की, २०३१ बुटवल औद्योगिक क्षेत्र रुपन्देही, २०३२ भक्तपुर औद्योगिक क्षेत्र भक्तपुर, २०३५ वीरेन्द्रनगर औद्योगिक क्षेत्र सुर्खेत, २०३८ धनकुटा औद्योगिक क्षेत्र धनकुटा र २०४१ गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र २०४४ सालमा स्थापना भएको थियो ।
नेपालगन्ज औद्योगिक क्षेत्रमा साना ठूला झन्डै तीन दर्जन उद्योगहरु सञ्चालनमा छन् । अर्बौं लगानी रहेका यी उद्योगमा संयाँैले रोजगारी पाएका छन् । उद्योग अन्यत्र सार्न सकस छ । बाँकेकै गनापुरलगायतका ठाउँमा उद्योगहरु स्थानान्तरण भइरहेका छन् । नेपालगन्ज औद्योगिक क्षेत्रको विकल्प तयार हुँदै गरे पनि भनेका बेला चलि आएका उद्योग अन्यत्र सार्न नसकिने अवस्था छ । सुरुमा बस्ती नभएको ठाउँमा औद्योगिक क्षेत्र बन्छ, त्यसपछि वरिपरि बस्ती बस्छ ।
अनि सुरु हुन्छ प्रदूषणको झमेला । उद्योगीहरुका लागि पछिल्लो समय सबैभन्दा टाउको दुखाईको विषयनै यही बन्दै आएको छ । उद्योगीहरु भन्छन्, ‘बस्ती छैन भनेर उद्योग खोल्यो । उद्योग खोलेपछि वरिपरि बस्ती बस्छ अनि सुरु हुन्छ प्रदूषणको झमेला ।
यही कारण कयौं उद्योगहरुले मुद्दासमेत खेप्नु परेको छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी वातारण प्रदूषण नियन्त्रणमा निजी क्षेत्र गम्भीर रहेको तर अनावश्यकरुपमा झिकिने विवादले समाधान नदिने बताउँछन् ।
उनी भन्छन्, ‘बस्तीबीचमा उद्योग खोल्न पाइँदैन भने जस्तै उद्योगको आसपास निश्चित समयका लागि बस्ती बसाउन नपाइने गरी नीति बनाउन आवश्यक देखिन्छ । त्यसले उद्योग र नागरिकबीच विवाद बढ्दैन ।’
नेपालगन्ज सबैभन्दा प्रदूषित सहरभित्र पर्छ । त्यसको एउटा कारण सहरभित्र रहेको औद्योगिक क्षेत्रलाई मानिँदै आएको छ । तर वर्षौं पहिले बस्ती नभएका बेला खुलेको औद्योगिक क्षेत्रभित्रका उद्योगहरुले प्रदूषण कम गर्ने उपायहरुको खोजी गरिरहेका छन् । प्रदूषण नियन्त्रण आफूहरुको दायित्व भएको उनीहरु बताउँछन् ।
यस्तै समस्या अन्यत्रका उद्योग र स्थानीयबीच पनि छ । नेपालगन्ज र कोहलपुर क्षेत्रका कयौं उद्योगहरुले स्थानीयबाट यस्ता समस्याहरु झेलिरहेका छन् । स्थानीयले उद्योगका कारण आफ्नो स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आवाज उठाइरहेका छन् ।
उद्योग र स्थानीयबीच उत्पन्न हुने समस्याको समाधानको खोजी हुनुपर्ने उद्योगी, व्यवसायीहरु बताउँछन् । उद्योग सञ्चालक र स्थानीय सर्वसाधारणले एकअर्काको समस्या समाधान गर्नेतर्फ केन्द्रित भएर काम गर्नुपर्नेमा सबै सहमत छन् ।
प्रतिक्रिया दिनुहोस्