बर्दिया ।
जिल्लामा फेरि पाटेबाघले एकजनाको ज्यान लिएको छ । आइतबार गेरुवा गाउँपालिका–४, राजीपुरका ६२ वर्षीय कालुराम थारुको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।
दिउँसो घर नजिकै भैंसी चराउन गएका उनलाई पाटेबाघले आक्रमण गरी ज्यान लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द सञ्जेलले जानकारी दिए । निकुञ्जको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।
पाटेबाघले थारुलाई आक्रमण गरेको क्षेत्र बर्दिया निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र पर्ने बताइएको छ । यसअघि असोज २५ पनि पाटेबाघको आक्रमणबाट बर्दियाको गेरुवाकै एक पुरुषको ज्यान गएको थियो । आर्थिक वर्ष २०७७/७८ मा १२ जना र चालू आर्थिक वर्षमा तीनजना गरी १६ महिनामा १५ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् ।
निकुञ्ज, डिभिजन वन तथा जिल्ला प्रशासन कार्यालय बर्दियाले स्थानीयलाई जंगल प्रवेश नगर्न तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रहसमेत गर्दै आएका छन् ।
कतिपय अवस्थामा बाटेबाघले निकुञ्ज छेउछाउका गाउँमै पुगेर पनि स्थानीयको ज्यान लिने गरेको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले घटना भइरहेको क्षेत्रमा अनुगमन गरेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने गरेको छ ।
आइतबार थारुलाई आक्रमण गरेर ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिनेकी निगरानीमा मात्रै राख्ने भन्ने विषयमा छलफल भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्