गाउँगाउँमा राजनीतिक सरगर्मी



कांग्रेस १४औँ महाधिवेशन

बाँके क्षेत्र नम्बर १ मा केसी

नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहका पोषण केसी निर्वाचित भएका छन् । संस्थापन (शेरबहादुर देउवा) समूहका माधवराम खत्रीलाई ४७ मतको अन्तरले पराजित गर्दै केसी सभापतिमा निर्वाचित भएका हुन् ।

उक्त निर्वाचन क्षेत्रमा ६ सय एक मत खसेको थियो । जसमा नवनिर्वाचित सभापति केसीले तीन सय १६ मत पाएका थिए भने खत्रीले दुई सय ६९ मत पाए । सभापतिमा निर्वाचित केसी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव हुन् । उनीसँगै संस्थापनइतर समूहका खुमबहादुर बस्नेत सचिवमा निर्वाचित भएका छन् । अर्का सचिवमा संस्थापन समूहका जयश्वर पौडेल पनि निर्वाचित भएका छन् ।

सहसचिवमा पनि दुवै समूहका एक-एकजना निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस बाँकेका अनुसार संस्थापन समूहबाट दीपेन्द्र उप्रेती र संस्थापनइतर समूहबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।

क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो । ६ सय पाँच मतदातामध्ये ६ सय एक मात्र मत खसेको थियो ।

सभापतिमा कुर्मीको उम्मेदारी

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मीले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीलाई गतिशील र जीवन्त बनाउन जिल्ला सभापतिमा आफू उम्मेदवारी दिएको उनको भनाइ छ । ‘जनताले मलाई रुचाएका छन्,’ उनले भने, ‘पार्टीलाई अहिले मेरो आवश्यकता छ ।’ पार्टीलाई यतिबेला आफ्नो खाँचो भएको भन्दै उनले जिल्ला सभापतिका लागि आफू सक्षम र योग्य उम्मेदवार भएको दाबी गरे । उनी संस्थापन समूहका नेता हुन् ।

तीन पूर्वजिल्ला सभापति पराजित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङका तीनजना पूर्वजिल्ला सभापतिहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसका पूर्वसभापति बिरकेसरी गौतम, घनश्याम रेग्मी र मोहनलाल ओली पराजित भएका हुन् ।

ओली तत्कालीन प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति हुन् । गौतम र ओली दाङ क्षेत्र नम्बर २ बाट पराजित भए भने रेग्मी दाङ ३ बाट पराजित भएको नेपाली कांग्रेसले जनाएको छ । यसैगरि महासमिति सदस्य हरिप्रसाद रजौरिया पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

एमालेको १०औँ महाधिवेशन सुरु

नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डात्तोलन गरी सुरू गरेका हुन् ।

नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको छ । ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डात्तोलन गरेका हुन् । झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेपछि एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कट पनि अवलोकन गरेका थिए ।

उक्त महाधिवेशनबाट बाँकेमा करिब पाँच हजार नेता कायर्कता सहभागी भएको नेकपा एमाले बाँकेले दाबी गरेको छ । महाधिवेशनका लागि सबै वडाबाट नेता कार्यकर्ताहरु स्वतफुर्तरुपमा सहभागी भएको नेकपा एमालेले जनाएको छ ।

माओवादीको पालिकास्तरीय अधिवेशन आज

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन देशभर एकैसाथ आज हुने भएका छन् । सोही क्रममा बाँकेका आठवटै पालिकामा आज (शनिबार) सम्मेलन हुने नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिए । उनका अनुसार पालिका सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

जिल्लाको सबैभन्दा ठूलो नेपालगन्ज उपमहानगरपालिका नेतृत्वको लागि डिल्ली बराल, गोपाल पुनलगायत छन् । नेकपा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कलबहादुर बमले नेतृत्वमा धेरै जनाले दाबी गरे पनि सहमतिमैं टुंगो लाग्ने जनाए ।

‘नेतृत्वको लागि धेरै साथीहरुले इच्छा देखाउनुभएको छ,’ उनले मिसन टुडेसँग भने, ‘सबै साथीहरु हामी छलफलमैं छौं । नेतृत्वको लागि नेपालगन्जमा निर्वाचन हुँदैन । सर्वसम्मत् रूपमा नेतृत्व चयन हुन्छ ।’

कोहलपुर नगरपालिकामा समेत धेरै जनाले नेतृत्वको लागि आकांक्षा देखाएका छन् । यहाँ पनि सकेसम्म सर्वसम्मत् रूपमैंै नयाँ कमिटी चयन गर्ने प्रयास भइरहेको नेकपा माओवादी केन्द्र कोहलपुरले जनाएको छ । कोहलपुर नगर अध्यक्षको लागि तुलाराम बिष्ट ‘बिहानी’, नरेश पौडेल, अवराज खड्का, बद्रीप्रसाद जैसीलगायतले दाबी गरेका छन् ।

कोहलपुर नगर कमिटीका इन्चार्ज नरेन्द्र न्यौपानेले अध्यक्षमा धेरै जनाको दाबी भए पनि सहमति गरेर नेतृत्व चयन गरिने जानकारी दिए । ‘धेरै साथीहरुले विभिन्न पदमा आकांक्षा देखाउनु भएको छ,’ उनले भने, ‘सबै आकांक्षी साथीहरुसँग बसेर नगर कमिटी सर्वसम्मत् रूपमा नै छान्ने प्रयासमा छौं ।’ कोहलपुरको सम्मेलन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलन उद्घाटन पूर्व नगरका १५ वडाबाट निस्किएको झाँकीसहितको ¥यालीले कोहलपुर नगर परिक्रममा गर्ने छ । यस्तै बैजनाथ गाउँपालिकामा ‘सृदृढ संगठन र समृद्ध बैजनाथ हाम्रो अभियान, समाजवाद उन्मुख व्यवस्थाको लागि दोस्रो पालिका सम्मेलन’ भन्ने मूल नाराका साथ हुन गइरहेको सम्मेलनको तयारी पूरा भएको बैजनाथ गाउँपालिका इन्चार्ज नरेन्द्र पाण्डे ‘जेम्स’ ले जानकारी दिए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आज नै नयाँ नेतृत्व चयन गर्ने उनले बताए । यहाँको सम्मेलन पनि युवा तथा खेलकुदमन्त्री अथकले उद्घाटन गर्ने कार्यक्रम छ ।

पत्रकार सम्मेलनमा हालसम्म पालिकामा ३५ वटा टोल कमिटी, वडा समिति, विभिन्न जनवर्गीय संगठनका सम्मेलन सकिएको उनले जानकारी दिए । राप्तीसोनारी, नरैनापुर, डुडुवा, खजुरा र बैजनाथ गाउँपालिकामा समेत आजै सम्मेलन सम्पन्न हुनेछ । ती पालिकाहरुमा समेत सर्वसम्मत् रूपमा नै नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

सबै पालिकाहरुले शुक्रबार नै सम्मेलनको तयारी पूरा गरिसकेका थिए । सम्मेलनको लागि नेकपा माओवादी केन्द्रले सबै पालिकामा यसअघि नै प्रतिनिधि तोकिसकेको थियो । बाँकेका गाउँ कमिटी र वडा कमिटीमा समेत यसअघि नै सर्वसम्मत् रूपमा नयाँ नेतृत्व चयन भइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार