25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

घुम्न आउने होइन कोइलाबास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ११, २०७८  

शिवु खनाल । दाङ ।

नेपाल सांस्कृतिक विविधता तथा प्राकृतिक सुन्दरताले सजिएको मुलुक हो । विविध प्राकृतिक एवम् सांस्कृतिक महŒवले भरिएका नेपालका जिल्लाहरु मध्ये दाङ पनि एक हो ।

यहाँको लमही नगरपालिका हुँदै गढवा गाउँपालिका–८ मा कोइलाबास नाका छ । जसलाई राप्तीको प्रवेशद्वारका रूपमा लिइन्छ । लमहीदेखि कोइलाबास नाका ३३ किलोमिटर क्षेत्रको दुरीमा अवस्थित छ ।

जहाँ जनकपुर धामपछिको नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिरलगायत विभिन्न पर्यटकीयस्थलमा पुग्न सकिन्छ । छिमेकी राष्ट्र भारतसँग जोडिएको कोइलाबास नाका राप्तीको प्रवेशद्वार हो ।

लमहीदेखि कोइलाबास नाका सडकखण्ड कालोपत्रे भएपछि बाउ बाजेले नुन बोकेको भन्दै दाङ जिल्लासहित छिमेकी जिल्लाबाट पर्यटकहरु कोइलाबास नाका पुग्ने गरेको पाइन्छ । करिब दुई सयभन्दा बढी घरधुरी रहेको यस कोइलाबास नाकामा सबै समुदायको बसोबास रहेको छ ।

पर्यटकीय आर्कषणहरु

भारतसँग जोडिएको दाङको कोइलाबास नाका विभिन्न सौन्दर्यताले भरिएको एक गन्तव्य हो । भौगोलिक सुन्दरता र यहाँ रहेको जनकपुर धामपछिको नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर दर्शन, सीमावर्ती क्षेत्रमा रहेको नेपाल प्रवेशद्वारा गेटमा तस्विरहरु कैद गर्न घुम्न आउने गर्छन् । कोइलाबास नाकामा आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै घुइँचो लाग्ने गर्दछ ।

विशेषगरि भारतको दिल्ली, मुम्बई, गोण्डा, लखनउ, तुलसीपुरलगायतका विभिन्न क्षेत्रबाट नेपालमा रहेको ठूल्ठूला पहाड हेर्न विभिन्न भारतीय पर्यटकहरु आउने गरेको गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी बताउँछन् । कोइलाबास नाका अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर भ्यूटावरको निर्माण गरिएको छ ।

उक्त भ्यूटावरबाट कोइलाबास नाकाका विभिन्न नमुनाका गाउँ बस्तीहरु हेर्ने र परम्परागत शैलीका घर, गाउँले परिवेश र जीवनशैली नजिकदेखि अध्ययन गर्न पाउनुको साथै राप्तीको प्रवेशद्वारदेखि लिएर जनकपुर धामपछिको नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिरलगायतका भग्नावशेष दृश्यहरु अवलोकन गर्न सकिनेछ । लमही गढवा हुँदै कोइलाबास नाकाको यात्रामा निस्किएपछि पर्यटकीय क्षेत्र प्रष्ट देखिनुका साथै यहाँदेखि विभिन्न जिल्लाका मनमोहक दृश्यहरु पनि देख्न सकिन्छ ।

जैविक विविधताले भरिपूर्ण कोइलाबास नाका जहाँ वडा कार्यालयको आर्थिक सहयोगमा प्रत्येक वर्ष रामसीता विवाह महोत्सव लाग्ने गर्दछ । उक्त महोत्सवको दृश्य अवलोकनको लागि भारतलगायतका विभिन्न जिल्लाहरुबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको रामजानकी मन्दिरमा घुइँचो लाग्ने गरेको वडाध्यक्ष सद्दाम सिद्दिकीको भनाइ छ ।

कोइलाबास नाकाको दृश्यले आन्तरिक पर्यटकहरुलाई मात्रै नभइ बाह्य सबैै पर्यटकलाई मोहित पार्नुका साथै विभिन्न प्रजातीका चराचुरुंगी, जीवजनावर, जडीबुटी आदिले थप सौन्दर्य थपेको आभाष जो कोहीलाई हुन्छ । धार्मिकरुपमा पनि कोइलाबास बजारदेखि नजिकै करिब एक किलोमिटरको दुरीमा रहेको प्रसिद्ध रामजानकी मन्दिर धार्मिकस्थल पुग्न सकिन्छ ।

पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयास

भारतसँग जोडिएको दाङको राप्तीद्वार (कोइलाबास नाका) क्षेत्रको विकास र प्रवद्र्धनका लागि स्थानीयदेखि लिएर वडा सरकार र गाउँपालिकाकाले प्रत्येक वर्ष विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

वडाले कोइलाबास क्षेत्र सरसफाई कार्यक्रम, गोरेटो पैदलबाटो निर्माणलगायएका कार्यक्रम र गतिविधिहरु सञ्चालन हुन्छन् । साथै यस क्षेत्रको थप विकासका लागि पर्यटकलाई लक्षित गरेर भ्यूटावरको निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

सम्भावना र समस्याहरु

कोइलाबास नाका क्षेत्र विभिन्न सौन्दर्यतामा मात्र धनी नभइ ऐतिहासिकस्थल पनि भएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्र्धन गर्न जरुरी देखिन्छ । पर्यटनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न सके यस क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।

कोइलाबास बजार क्षेत्रका कच्ची सडक र गोरेटो बाटोको कालोपत्रे वा मर्मत, खानेपानीको व्यवस्था, पिकनिक स्पोर्टको उचित व्यवस्था, सरंक्षित क्षेत्रमा तार जालीको व्यवस्था, स्वास्थ्यको व्यवस्था र व्यावसायिक खेती आदिको प्रचारप्रसारमा ध्यान दिन सके जिल्लामै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा कुनै शंका देखिँदैन ।

 

प्रकाशित मितिः शनिबार, मंसिर ११, २०७८     10:15:45 AM  |