कोहलपुरमा नयनराज पाण्डेसँग अन्तरक्रिया



कोहलपुर ।

बाँकेको कोहलपुरमा आख्यान र अनुभूतिमा नयनराज पाण्डेसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान अन्तर्गत आख्यान विभागको आयोजनामा शुक्रबार अन्तरक्रिया सम्पन्न भएको थियो ।

उक्त अवसरमा साहित्यकार पाण्डेले आफ्नो साहित्यिक यात्राका बारेमा अनुभूति साटेका थिए । यस्तै उनले नेपालगन्जमा हुर्किएको आफ्नो साहित्यिक यात्रा, काठमाडौंमा गरेको संघर्ष, विभिन्न साहित्यिक विधाको आफ्नो यात्राका विषयमा अनुभव सुनाए । खासगरी पटकथा, नाटक, फिल्म, आख्यान लेखनमा जोडिएका दुःख सुखका बारेमा समेत सहभागीलाई उनले सुनाएका थिए ।

सहभागी र पाण्डेबीच साहित्यका विविध पक्षका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । सहभागीहरुले उनलाई साहित्यका विविध पक्षका विषयमा प्रश्न गरेका थिए । सबै प्रश्नको उनले निकै सरल र सहज रुपमा उत्तर फर्काए । उनले सो अवसरमा केही रमाइला, रोचक तथा गम्भीर प्रसंग सुनाएका थिए । उक्त साहित्य लेखन व्यक्ति भित्रको अभिव्यक्ति भएको बताए ।

उनका अनुसार लेखनमा लगनशिलता, सक्रियता र निरन्तरता आवश्यक हुन्छ । नेपालगन्ज आफ्नो साहित्यिक यात्राको कर्मथलो भएको पाण्डेको भनाइ छ । ‘साहित्यका सबै विधा उस्तै हुन् । लेखनमा नयाँ प्रयोग निकै महत्वपूर्ण हुन्छ ।

लेख्नका लागि मात्रै होइन, सधै समाजलाई केन्द्रमा राखेर लेख्नुपर्छ ।’ उक्त अवसरमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मीले बाँके साहित्यको उर्वर भूमि रहेको बताए । पुराना लेखक समेत रहेका रेग्मीले बाँकेमा रंगमञ्चको आवश्यकता रहेको बताए ।

उनका अनुसार बाँकेमा रंगमञ्च होस भन्ने आफ्नो चाहना छ । पछिल्लो समय हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रक्रिया सुरु गरेको भन्दै छिटो सम्पन्न होस भन्दै शुभकामना व्यक्त गरे । अन्तरक्रिया कार्यक्रमको समापन सत्रमा बोल्दै आख्यान विभागका प्रमुख सुमित्रा न्यौपानेले पूर्णिमाले नयनराज पाण्डे जस्ता लेखकसँग अन्तरक्रिया गर्न पाउनु सुनौलो अवसर भएको बताइन् ।

उनका अनुसार पाण्डेलाई पूर्णिमा सदस्यको रुपमा पाउनु समेत शौभाग्यको कुरा हो । पाण्डे पूर्णिमाका सल्लाहकार समेत हुन् । उनको भर्खरै मात्र जियरा बजारमा आएको छ । यसअघि उनका लू, उलार, चकलेट लगाएत कृति प्रकाशित छन् । उक्त अवसरमा नेपालगन्ज र कोहलपुरमा साहित्यमा कलम चलाइरहेका स्रष्टाहरुको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार