नेपालगन्ज : गत कार्तिक २६ गते नेपालगन्ज विमानस्थलमा जहाजमा बँदेल ठोक्कियो । नेपालगन्जबाट हुम्ला जान लागेको सीता एयरमा बँदेल ठोकिएपछि उडान नै प्रभावित भयो । उक्त जहाज १४ यात्रुसहित ९० किलोग्राम कार्गो (सामान) बोकेर सिमीकोटतर्फ उड्दै थियो । उड्ने क्रममा धावनमार्ग (रन–वे) मा जहाज बँदेलसँग ठोकिन पुग्यो । जहाज पूर्ण रूपमा ग्राउन्डेड भयो । यो घटनालाई लिएर सबैले हाँसोमजाक गरे । विमानस्थल सुरक्षामा भएको यस्तो लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा धेरैले सरकारमाथि व्यंग्य कसे ।
‘बँदेललाई उद्दार गरी उपचारका लागि हस्पिटल पठाउने व्यवस्था गरियोस् सरकार’ भन्नसम्म भ्याए । त्यतिबेला सीता एयरको जहाजमा तीन वटा बँदेल ठोक्किएका थिए । नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोकिने घटना भएका छन् । नेपालगन्ज विमानस्थलमै गत वर्षको मंसिर १८ गते बुद्ध एयरको जहाजमा पनि बँदेल ठोक्किएको थियो ।
विमानस्थलको धवनमार्गमै बँदेल ठोक्किएको एक महिना बित्दै फेरि स्याल ठोकिएको छ ।बुधबार साँझ ७ बजेतिर नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान र स्याल एकआपसमा ठोक्किएका हुन् । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ । उक्त जहाजमा ७२ जना यात्रु सवार थिए ।
बुद्ध एयरका सञ्चालक वीरेन्द बस्नेत विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बताउँछन् । संयोग, दुवैपटक जहाजमा सामान्य क्षति पुगेपनि मानवीय क्षति भने भएन ।
पश्चिम क्षेत्रको एकमात्र व्यवस्त विमानस्थलका रुपमा रहेको नेपालगन्ज विमानस्थलमा यस्ता घटना बेलाबेलामा घटिरहेका छन् । विमानस्थल वरीपरी जंगल क्षेत्र रहेकोले यस्ता घटना घटिरहन्छन् । वरपर रहेका झाडी, सुरक्षाका उपाय नअपनाउँदा विमानस्थलमा जोखिम निम्तिरहेको छ । तर, अझै पनि उच्च सजकता नदेखाउने हो भने कुनै पनि यहाँ ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना रहेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार नेपालगन्ज विमानस्थल क्षेत्रमा ठूलो जंगल क्षेत्र छ । पछिल्लो पटक सीता एयरमा बँदेल ठोक्किएपछि झाडी सफाइ गरिएको थियो ।
विमानस्थलमा मानवीय क्षति नहोस भनेर उच्च सतर्कता पनि अपनाइएको उनले बताएका छन् । अचानक हुने यस्ता घटनाप्रति आफूहरु सधै सचेत अवस्थामा रहने उनले बताएका छन् । यहाँ केहिदिन अघि मात्रै रुकुम पश्चिमको सल्ले विमानस्थल जानुपर्ने जहाजको पाइलटले ड्युटी सकिएको भन्दै नेपालगन्ज विमानस्थलमा अवतरण गराएको समाचार समेत बाहिरिएको थियो । पाइलटले अलपत्र छाडिदिएपनि यात्रुहरुको विचल्ली भएको थियो । नेपालको हवाई क्षेत्र अहिले पनि असुरक्षित छ । यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्