बाँकेमा मुख्य सडक क्षेत्रमै पशु चौपायको ‘ट्राफिक जाम’



शुभाकर विश्वकर्मा,कोहलपुर
बाँकेमा छाडा पशु चौपाय व्यवस्थापन चुनौतीका रुपमा रहेको छ । जिल्लाका मुख्य सडक क्षेत्रमा दैनिक सयौं सवारी र मानिसहरुको आवागमन हुने गर्दछ । छाडा पशु चौपाय व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम कायम रहेको छ । जिल्ला सदरमुकाम नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा मुख्य सडक क्षेत्रमै छाडा पशु चौपायहरुको ताँती नै देखिन्छ । पशु पालकहरुले पशु चौपायको उचित व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको उच्च जोखिम रहेको छ ।


यहाँका स्थानीय तहले समेत छाडा पशु चौपायको व्यवस्थापन गर्न सकिरहेका छैनन् । ती स्थानीय तहहरुले छाडा पशु चौपाय व्यवस्थापनको प्रयास गरेपनि सरोकारवालाहरुको असहयोगका कारण पशु चौपाय व्यवस्थापन हुन नसकेको हो । धेरै सवारी साधनहरुको चाप हुने क्षेत्र र मुख्य सडक क्षेत्र मै पशु चौपायको ‘ट्राफिक जाम’ बाँकेमा सवारी दुर्घटनाको एउटा कारण हो । विशेषगरी नेपालगन्जका मुख्य सडक क्षेत्र,कोहलपुर–नेपालगन्ज सडक खण्ड र कोहलपुरका मुख्य सडकमा हरेक समय पशु चौपाय सडकमा बसिरहेको देखिन्छ । यी क्षेत्रमा रातको समयमा त बीच बाटोमै बसिरहेका देखिन्छन् पशु चौपाय ।

कोहलपुरमा बसोबास गर्दै आएका हस्त बुढा क्षेत्री नगरपालिकाले छाडा पशु चौपाय व्यवस्थापन गर्न नसक्नु दुःखत विषय भएको बताए । चौराहामा व्यवसाय गर्दै आएका उनी छाडा पशुले आफूहरुलाई समेत दुःख दिने गरेको बताउँछन् । उनका अनुसार नगरपालिकाले ठेलावालाहरुलाई दुःख दिन्छ । तर छाडा पशु चौपाय व्यवस्थापनमा ध्यान दिन सकेको छैन । तीन प्रदेशको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको कोहलपुर नगरपालिका छाडा पशु चौपायकै कारण कुरुप बन्दै गएको उनको भनाइ छ । ‘केही समयदेखि व्यवसाय गर्दै आएको छु ।मुख्य सडक क्षेत्रमै छाडा पशु चौपाय डुलिरहेका देखिन्छ’,उनले भने,‘तर अहिले सम्म कसैले पनि चासो नदिएको पाइएको छ । यसले दुर्घटनाको जोखिम समेत बढेको छ । यसलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’

छाडा पशु चौपायका कारण सवारी साधनमा यात्रा गर्ने मात्रै होइन, साना सवारी मोटरसाइकल,साइकल तथा पैदल यात्रा गर्नेहरुलाई समेत सास्ती हुने गरेको छ । मुख्य सडक क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु समेत नगरपालिकाले छाडा पशु चौपाय व्यवस्थापन गर्न नसक्नु लज्जाको विषय भएको बताउँछन् ।
न्युरोड क्षेत्रमा व्यवसाय गर्दै आएकी बन्दना परियार छाडा पशु लामो समयदेखिको समस्याको विषय भएको बताउँछिन् । उनका अनुसार व्यवस्थापनको जिम्मा स्थानीय सरकार र स्वयंम पशु पालक किसानहरुको हो ।
तर, विभिन्न कारण पशुलाई छाडा छोड्ने गरेका कारण समस्या भइरहेको छ । छाडा पशु चौपायकै कारण मानिसहरुको ज्यानै जाने गरेको छ । यो समग्रमा बाँके जिल्ला कै प्रमुख समस्याका रुपमा रहेको छ । यसको व्यवस्थापनको लागि जिल्लास्तरमै पहल भइरहेको बताइएको छ । जिल्लाका आठ वटै स्थानीय तहलाई समेट्ने गरी ठूलो लगानीमा संरचना निर्माण भइरहेको बताइएको छ ।

जिल्लाको नरैनापुर गाउँपालिकामा उक्त संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत बताउँछन् । उनका अनुसार छाडा पशु चौपाय व्यवस्थापनकै लागि भनेर सबै पालिकाले सात करोड लगानी गरेका छन् । त्यहाँ संरचना बनेमा बाँकेमा छाडा पशुको व्यवस्थापन हुने उनको दाबी छ । उनले कोहलपुर नगरपालिकामा समेत चौपाय व्यवस्थापन थालेको बताउँछन् ।
तीन वर्षमा ६८ चौपायको मृत्यु !
बाँकेमा सडक दुर्घटनामा परी तीन वर्षमा ६८ पशु चौपायको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेका अनुसार ती चौपायको सडक दुर्घटनाकै कारण अकालमा मृत्यु भएको हो । कार्यालय प्रमुख ऐन बहादुर मल्लले आर्थिक वर्ष २०७८०७९ को हालसम्म १६ चौपायको मृत्यु भइसकेको जानकारी दिए । यस्तै दुर्घटनामा परी १८ पशु चौपाय घाइते भएका छन् ।

मल्लले दिएको जानकारी अनुसार श्रावणमा १, भाद्रमा ६, असोजमा २, कार्तिकमा ६ र मंसिर महिनामा १ पशु चौपायको सडक दुर्घटनामा मृत्यु भएको छ । सबै भन्दा धेरै कार्तिक महिनामा १३ पशु चौपाय घाइते भएका छन् ।

श्रावणमा ३, भाद्र र असोजमा समान १÷१ वटा जनावार घाइते भएका थिए । आर्थिक वर्ष २०७५÷०६७ मा २, २०६७÷०७७ मा सबैभन्दा धेरै ४० वटा र २०७७÷०७८ मा १० चौपायको मृत्यु भएको थियो । तीन वर्षमा ११ पशु चौपाय घाइते भएका थिए । ‘पशु चौपाय मृत्युको प्रमुख कारण सवारी दुर्घना हो ।यसको न्युनिकरणको लागि सबैले ध्यान दिनुपर्नेछ ।’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १० गते शुक्रबार