बर्दिया बाँसगढी नगरपालिकामा सेवाग्राहीले अब घरमै बसेर आवश्यक सेवाका सिफारीस पाउने भएका छन् । एकिकृत अनलाईन सिफारिस प्रणालीको सुरुवात भएसँगै सेवाग्राहीहरु आफैंले घरबाटै अनलाईन सिफारीस लिन सक्ने भएका हुन् ।
मंगलबारदेखि नगरपालिकाले एकिकृत अनलाईन सिफारिस प्रणालीको सुरुवात गर्दै घरबाटै आफैले अनलाईन सिफारीस लिन सकिने व्यवस्था लागु गरेको हो । बाँसगढी नगरपालिकाको वडा नम्बर– ८ ककौरावाट बाँसगढी नगर प्रमुख सालिकराम अधिकारी तथा जर्मन दुतावासका विकास सहयोग प्रमुख स्टेफन रुसेकले संयुक्त रुपमा उक्त प्रणालीको बिधिबत रुपमा समुद्घाटन गरेका थिए ।
नगरप्रमुख अधिकारीले ई–गभर्नेन्सको अवधारणा अनुरुप अबदेखि घरबाट नै नगरपालिकाको सिफारिस लिन सकिने जानकारी दिए । ‘नगरबासिलाई प्रदान गरिने सेवा सहज, सरल तथा सटिक हुनु पर्छ’ उनले भने ‘लेस पेनको अवधारणा अनुरुप उक्त प्रणालि निर्माण गरिएको हो ।’ नागरिकता सिफारिस, चार किल्ला प्रमाणित, नाता प्रमाणीत लगाएतका वडाले प्रदान गर्ने सबै खाले सिफारिसहरु अब सेवाग्राहीहरुले घरबाटै लिन सक्नेछन् ।
नगर प्रमुख अधिकारीले प्राविधिक तवरवाट सञ्चालन हुने भएको हुँदा प्राविधिक पक्षलाई आगामी दिनमा अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता जनाए । जर्मन दुतावासका विकास सहयोग प्रमुख रुसेकले जर्मन सरकारसमेत इ प्रणालीबाट सेवाहरु प्रवाह गर्ने तर्फ अग्रसर रहेको बताएका थिए ।
‘बाँसगढी नगरपालिका ई गभर्नेन्सको अवधारणामा सेवा प्रवाह गर्न धेरै अगाढी बढिसकेकोमा मलाई खुसी लागेको छ’ उनले भने, ‘हाम्रो तर्फबाट समेत तपाईहरुलाई चाहिने सहयोग हुन्छ ।’
बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले सबै सिफारिस घरबाट नै लिन सकिने जानकारी दिए । उनले हरेक सिफारिसमा बिद्यूतीय कारोबार नम्बर समेत राखिएको हुँदा डुप्लिकेसन र बैधानिकता एकिन गर्न समेत सहज हुने बताए ।










प्रतिक्रिया दिनुहोस्