बाँकेको बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई बाँके जिल्लाकै दोस्रो पालिकाका रुपमा बालविवाह मुक्त पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाको नवनिर्मित सभा हलमा एक भव्य समारोहकाबीच गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बाँके जिल्लाको दोस्रो स्थानीय तहको रुपमा बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् ।
बाँकेका आठ पालिका मध्ये यसअघि जिल्लाको जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको थियो । मंगलबार बैजनाथ गाउँपालिकालाई पनि बालविवाह मुक्त घोषणा गरे लगत्तै बाँकेमा बालविवाह मुक्त हुने पालिकाको संख्या दुई पुगेको छ । अहिले जिल्लाका अन्य पालिका समेत वडालाई बालविवाह मुक्त गर्ने अभियानमा छन् ।
जिल्लाका ८१ वटा वडा मध्ये अहिलेसम्म २९ वटा वडा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । बैजनाथमा यसअघि गाउँपालिकामा रहेका आठवटै वडालाई चरणबद्ध रुपमा बालविवाह मुक्त घोषणा गरिएको थियो । सबै वडा बालविवाह मुक्त भएपनि गाउँपालिकालाई नै घोषणा गरिएको हो ।
गाउँपालिकाले बालविवाह मुक्त घोषणा गर्नको लागि ‘हामी सबैको साझा भूमिकाः बालविवाह मुक्त बैजनाथ गाउँपालिका’ नारा नै तय गरिएको छ । उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बाँके जिल्ला अहिले बालविवाह मुक्त गर्ने अभियानको चरणमा रहेको बताए । उनका अनुसार जिल्लालाई नै बालविवाह मुक्त बनाउने अभियान अन्तर्गत बैजनाथ पनि बालविवाह भएको छ ।
उनले बैजनाथ जिल्लाकै दोस्रो पालिकाको रुपमा घोषणा भएसँगै जिल्ला समन्वय समितिले प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । यस्तै अन्य पालिकाले समेत फागुन मसान्तसम्म बालविवाह मुक्त घोषणा गरेमा १० लाख रुपैयाँ दिने जिल्ला समन्वय समितिको अभियान नै रहेको बताए । ‘बाँकेमा हरेक कुरामा विविधता छ ।
यहाँ केही वर्ष पहिले १६ वर्षमै विवाह गर्न पाउनुपर्ने आवाज उठेको थियो । तर त्यही पालिकालाई हामीले जिल्ला मै पहिलोपटक बालविवाह मुक्त घोषणा गर्न सफल भएका छौ’, उनले भने, ‘अहिले त घोषणा मात्रै भएका हुन् । अब अर्को ठूलो जिम्मेवारी हाम्रो काँधमा छ । जिल्लालाई शुन्य बालविवाह बनाउन सबै एकजुट हुनुको विकल्प छैन ।’
उनले सम्पूर्ण सरोकारलालाई बालविवाह मुक्त घोषणालाई सार्थक तुल्याउन सबैको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । उक्त अवसरमा बोल्दै स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले बाँके जिल्लालाई बालविवाह बनाउने अभियानको राम्रो सुरुवात भएको बताए । उनका अनुसार स्थानीय तहको साझेदारीमा सुरु भएको अभियानलाई सफल बनाउन स्थानीय तह नै अग्रसरता लिनुपर्छ ।
‘बालविवाह मुक्त अभियानको सुरु हाम्रो संस्थाले गरेको हो । अब यसको तीन वर्षे कार्यकाल सकिएको छ । बाँकी काम पुरा गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा आएको छ । स्थानीय तहले अब यो अभियानलाई निष्कर्षमा पु¥याउनुपर्छ ।’ उक्त अवसरमा बोल्दै किशोरी क्लबकी अध्यक्ष अनु रावतले आफूहरुले लामो समयदेखि उठाउँदै आएको बालविवाह मुक्त घोषणाको सपना पूरा भएको बताइन् ।
अध्यक्ष रावतले अब यसलाई कार्ययोजनालाई कार्यान्वयन गर्न सबैको भूमिका रहेको जानकारी दिइन् । उक्त अवसरमा बोल्दै नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले बालविवाह मुक्त अभियान कार्यान्वयनको लागि आफ्नो दलका कार्यकर्तालाई आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाल विवाहको अवस्था अध्ययनको सार
बैजनाथ गाउँपालिकाका वडाहरुलाई बालविवाह मुक्त घोषणा गर्न मूख्य रुपमा ४ वटा आधारमा अध्ययन गरिएको छ । ती आधार पहिलो बालविवाह मुक्त घोषणाको लागि नीति र कानुनी व्यवस्था, वडामा एक वर्षको अवधिमा विवाह दर्ताको तथ्यांक, प्रहरी कार्यालयमा बाल विवाह विरुद्ध उजुरी र बालविवाह बारे टोल स्तरमा गरिएको नमूना सर्वेक्षण रहेका छन् ।
सर्वेक्षण अनुसार बैजनाथ गाउँपालिकामा १ वर्षको अवधिमा ७ सय वटा विवाह दर्ता भएको छ । त्यसमा एउटा पनि बालविवाह भएको छैन । पालिका अन्तर्गत रहेका चार वटा प्रहरी कार्यालयमा ४ बालविवाहका मुद्दा दर्ता भएका छन् । यस्तै सर्वेक्षणका क्रममा ६० वटा बालविवाहका केस फेला परेका छन् ।
समग्रमा पालिकामा कुल विवाह दर्ता र बालविवाह तथ्यांक विश्लेषण गर्दा औसत ८.९९ प्रतिशत बाल विवाह भएको देखिन्छ । पालिकामा रहेका आठ वटै वडाहरुको सबै गाउँ लगायत टोलवस्तीमा ११०६६ घरधुरी रहेकोमा नमूना संकलन विधिबाट १३३५ जनामा सर्वेक्षण गरिएको छ । जुन बैजनाथ गाउँपालिकाको कुल घरधुरीको १२.०६ प्रतिशत तथा पालिकाको कूल जनसंख्याको २.४५ प्रतिशत कभरेज हो । सर्वेक्षणमा १४ देखि ४५ वर्षका व्यक्ति सहभागी थिए ।
सबै वडाहरुमा बाल विवाहको तथ्यांक ८० प्रतिशत भन्दा बढी हुनुपर्ने व्यवस्था रहेकोले बाल विवाह मुक्त वडाहरुको घोषणा गरिएको छ । यसअघि सबै वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । ती वडाहरुमा बालविवाहको अवस्था न्युनतम वडा नम्बर ८ मा १.७२ र अधिकतम वडा नम्बर ५ मा १६.३२ बाल विवाह हुने गरेको छ ।
बैजनाथ वडा नम्बर १ मा १४.४५,वडा नम्बर २ मा ४.७०, वडा नम्बर ३ मा ८.५८ र वडा नम्बर ४ मा २.६ प्रतिशत बाल विवाह हुने गरेको छ । यस्तै वडा नम्बर ६ मा १३.३३ र वडा नम्बर ७ मा १.७२ प्रतिशत बाल विवाह हुने गरेको छ । आठ वटै वडाको प्रतिशतलाई जोड््दा बैजनाथ गाउँपालिकामा ८.९९ प्रतिशत बाल विवाह हुने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्