बाँकेमा थप ७८२ जनाले लगाए फाइजर खोप



नेपालगन्ज ।

बाँके जिल्लामा आज पनि बालबालिकाहरुलाई फाइजर खोपको पहिलो मात्र लगाइने भएको छ । मंगलबार लगाएर पनि अझै खोपको ३१५ डोज बाँकी रहेकोले बुधबार समेत लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मंगलबार मात्र ७८२ जना विद्यार्थी तथा बालबालिकालाई खोप लगाइएको थियो । ‘मंगलबार १२ देखि १७ वर्ष उमेर समूहका ७८२ जनालाई खोप लगाएका थियौं’ उनले भने, ‘अझै ३१५ डोज खोप बाँकी रहेकोले बुधबार बिहानैबाट लगाउने कार्यक्रम रहेको छ ।’ आज पहिला आउनेलाई पहिला खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

खोप केन्द्र नेपालगन्जमा रहेको भेरी अस्पताल परिसरमा रहेको छ । आज बिहान ८ बजेदेखि खोप केन्द्रमा आउनेलाई खोप लगाउन सुरु गरिने खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

‘पहिला आउनेलाई पहिला नै खोप लगाउँछौं’ उनले भने, ‘बाँकी रहेका खोप रहुन्जेलसम्म मात्र खोप लगाइनेछ ।’ फाईजर खोप कार्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाईने भनिए पनि बाँकेमा आएको फाइजरको १ हजार ८०० डोजमध्ये १३ प्रतिशत खोप प्रयोग नभएपछि आजसम्म लगाइने भएको हो ।

पहिले कोभिड अस्पतालमा सेवारत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीका छोराछोरी, अपाङ्ग तथा बालसुधार गृहका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई कार्यालयले प्रमाणित गरेको उमेर खुल्ने प्रमाणका आधारमा भेरी अस्पताल नेपालगन्जमा खोप लगाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ८ गते बुधबार