नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ३ वटा प्रतिनिधी सभा क्षेत्रमा आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । जिल्लामा तीन वटै क्षेत्रमा आज बिहान १० बजे उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए ।
प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु हुनेछ । सुरुमा बिहान मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता भट्टराईले बताए । मतदाता नामावली प्रकाशनपछि उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको उनले जानकारी दिए ।
मंगलबार तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नेपालगन्जमा अभिमुखिकरण दिइएको थियो । प्रतिनिधी सभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधी निर्वाचित हुनेछन् । प्रतिनिधी सभा क्षेत्रको निर्वाचनको लागि कांग्रेसका दुबै समूहले आइतबारदेखि नै आफ्नो प्रचार प्रसार थालिसकेका थिए ।
जिल्लाका तीन वटा प्रतिनिधी सभा क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर १ को निर्वाचनलाई धेरैले चासोका साथ हेरिरहेका छन् । यहीकै विवादका कारण निर्धारित समयमा बाँकेमा कार्यतालिका अनुसार अधिवेशन भएको थिएन । यहाँ संस्थापन (देउवा) र संस्थापन इतर
(कोइराला÷पौडेल) पक्षबीच नै चुनावी प्रतिष्पर्धा हुनेछ । संस्थापन पक्षले अहिलेका सभापति माधवराम खत्री र संस्थापन इतर पक्षले पोषण केसीलाई सभापतिमा अगाडि सारेका छन् ।
संस्थापन पक्षले सभापतिका उम्मेदवार पहिल्यंै टुङ्गो लगाएको थियो भने संस्थापन इतर समूहले मंगलबार दिउँसो मात्र केसीलाई सभापतिमा अगाडि सार्ने निर्णय गरेको थियो । खत्री र केसी एउटै वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत रुपमा छनौट भएका थिए ।
दुबै जना राप्ती सोनारी गाउँपालिका– १ कुसुमबाट क्षेत्रीय प्रतिनिधिमा छनौट भएका हुन् । क्षेत्रीय सभापतिको लागि एउटै वडाका दुई प्रतिनिधिहरु चुनावी मैदानमा उत्रिएपछि सबैभन्दा बढी क्षेत्र नम्बर १ को निर्वाचनलाई सबैले चासोको रुपमा हेरेका हुन् ।
जिल्लाभरी संस्थापन पक्षको लहर चलिरहेका बेला क्षेत्र नम्बर १ बाँकेमा पनि संस्थापन पक्षकै लहर चलेको संस्थापन पक्षले दाबी गरेको छ । क्षेत्र नम्बर १ मा स्थानीय र प्रदेश सभा क्षेत्रको निर्वाचन हेर्ने हो भने संस्थापन इतर समूहले कब्जा जमाएको छ । यहाँ रहेका तीन पालिकामध्ये एक पालिकामा संस्थापन र दुई पालिकामा संस्थापन इतर पक्षले सभापति जितेका छन् ।
राप्ती सोनारी गाउँपालिकामा मात्र संस्थान पक्षले सभापति जितेको थियो । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा संस्थापन इतर पक्षका सभापति रहेका छन् । प्रदेश सभा अन्र्तगत रहेका दुई निर्वाचन क्षेत्रमध्ये एक-एक स्थानमा सभापति जितेका थिए । संस्थापन पक्षले सभापतिमा अगाडि सारेका खत्री १२ वर्षदेखि क्षेत्रीय सभापति छन् ।
उनी तेस्रो कार्यकालको लागि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिदैंछन् । क्षेत्रीय सभापति खत्री यसपटक ‘ह्याट्रीक’ गर्ने दाउमा छन् । क्षेत्र नम्बर १ मा दुबै पक्षले आफ्ना उम्मेदवारहरुले जित्ने बताइराखेका छन् । कोहलपुर मंगलबार भएको कार्यक्रममा संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार केसीले अहिले भद्रगोल रहेको पार्टीलाई अगाडी बढाउनको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
‘यत्रो वर्षसम्म पार्टीको विधि विधान भन्दा पनि व्यक्तिगत कम्पनी जस्तो गरेर पार्टी चल्यो’ उनले भने, ‘कांग्रेस पार्टीलाई विधि विधान अनुसार अगाडि बढाउनको लागि मेरो उम्मेदवारी हो ।’ क्षेत्र नम्बर १ को निर्वाचन कार्यक्रमहरु कोहलपुरस्थित शित भण्डार परिसरमा हुने नेपाली कांग्रेस १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समिति बाँकेले जनाएको छ ।
आजका सबै निर्वाचन कार्यक्रमहरु सम्पन्न भएपछि भोली मतदान हुनेछ । १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा यसअघि वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचनका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्