बाघको छालासहित दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका वडा नम्बर– १६ गरुवा चोकबाट बाघको छालासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोप्य सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा पछाडी सवार रहेका महेन्द्र खड्काको साथबाट बाघको छाला बरामद गरिएको थियो ।
उनले समातेको कालो रङ्गको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित बन्यजन्तु बाघको जस्तो देखिने टाटेपाटे रङ्गको छाला थान १ छालासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर– ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उप–महानगरपालिका वडा नम्बर– ५ रानीजरूवाका ३१ वर्षीय महेन्द्र खड्का रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले टाउकोदेखी पुच्छर सम्म ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला एकथान, सिल्भर रङ्गको रेडमी नोट एकथान, सादा मोबाईल एकथान बरामद गरेको थियो ।
छालासहित दुबैजनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दाङलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्