‘कोहलपुरमा बालविवाह मुक्त अभियानलाई तिव्रता’



कोहलपुर ।

बाँकेका आठ पालिका बालविवाह मुक्त घोषणाको अभियानमा संक्रिय छन् । जिल्लामा बालबालिकाका क्षेत्रमा काम गर्दै आएका संघ संस्थासँग मिलेर यहाँका स्थानीय तह बालविवाह मुक्त गर्ने अभियानमा संक्रिय भएका हुन् ।

एक उपमहानगर र एक नगरसहित ६ गाउँपालिका रहेको बाँकेमा अहिलेसम्म जानकी र बैजनाथ गाउँपालिकाका सम्पूर्ण वडा बालविवाह मुक्त भइसकेका छन् । जिल्लाका कुल ८१ वटा वडामध्ये अहिलेसम्म २८ वटा बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

सोमबार जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर– ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाको पाँचौं वडाका रुपमा वडा नम्बर– ६ लाई बालविवाह मुक्त घोषणा गरिएको हो । कोहलपुर नगरपालिकामा कूल १५ वटा वडा रहेका छन् । तीमध्ये वडा नम्बर १, ११, १२ र १३ बालविवाह मुक्त घोषणा भइसकेका थिए ।

एक भव्य समारोहका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बालविवाह मुक्त भएको घोषणा गरेका हुन् । उनले कोहलपुर नगरपालिकालाई बालविवाह मुक्त बनाउने अभियान अन्तर्गत वडा नम्बर ६ लाई पनि बालविवाह मुक्त घोषणा गरिएको जानकारी दिए । नगर प्रमुख रावतले वडा नम्बर– ६ का अध्यक्ष राम शरण थारुलाई बालविवाह मुक्त गरेको घोषणापत्र र सम्मानको प्रमाणपत्र प्रदान गरेका थिए ।

अन्य वडा भन्दा कम विकसित तथा थारु समुदायको बाहुल्य रहेको वडामा सफलता पूर्वक अभियान सफल भएको रावतले बताए । ‘वडा नम्बर ६ ले छोटो समयमा राम्रो काम गरेको छ । थारु बाहुल्य रहेको वडामा बालविवाह मुक्त गर्न सफल भएका छौं,’ उनले भने, ‘अब निरन्तर अन्य वडा पनि बालविवाह मुक्त हुन्छन् । साथै हामीले बालविवाह मुक्त मात्रै होइन कार्यान्वयनमा समेत जोड दिनुपर्छ ।

यो अभियानलाई हामीले तिव्रता समेत दिएका छौं ।’ उनले बालविवाह न्युनिकरणको लागि जनप्रतिनिधि, अभिभावक र स्वयंम् बालबालिकाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । वडाध्यक्ष राम शरण थारुका अनुसार कोहलपुर नगरपालिकालाई बालविवाह मुक्त बनाउने अभियान अन्तर्गत वडा नम्बर– ६ लाई बालविवाह मुक्त घोषणा गरिएको हो । कोहलपुरमा अहिलेसम्म बालविवाह मुक्त घोषणा गरिएका वडा भन्दा वडा नम्बर– ६ मा सबैभन्दा कम बालविवाह हुने गरेको पाइएको छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका स्तरीय बालसञ्जालका अध्यक्ष रमेश वरले आफूहरुले लामो समयदेखि उठाउँदै आएको मुद्दामा अहिले स्थानीय सरकार लागि परेको बताए । उनका अनुसार अहिले नगरपालिकामा सञ्चालन भइरहेको बालविवाह मुक्त अभियानमा बाल क्लबहरुले महत्वपूर्ण भूमिका खेलेका छन् ।

उक्त अवसरमा वडालाई बालविवाह मुक्त गर्नको लागि सहयोग गर्ने सरोकारवालाहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । यस्तै बालविवाह मुक्त घोषणा कार्यक्रममा विभिन्न थारु संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो ।

वडामा बालविवाहको अवस्था

कोहलपुरका १५ वडा मध्ये एक हो, वडा नम्बर– ६ । नगरपालिकाको पाँचौ वडाको रुपमा सोमबार वडा नम्बर– ६ लाई बालविवाह मुक्त घोषणा पनि गरियो । वडालाई बालविवाह मुक्त घोषणा गर्नुपूर्व नमूना सर्वेक्षण गरिएको थियो । सर्वेक्षण अुसार वडा नम्बर– ६ मा विगत एक वर्षमा ४५ वटा विवाह दर्ता भएका छन् । सो सर्वेक्षणमा वडामा दुई वटा बालविवाह भएको पाइएको छ ।

जुन वडामा रहेका कुल बालविवाहको तथ्यांकमा जोड्दा ४.४४ प्रतिशत हो । वडाबाट ईलाका प्रहरी कार्यालय कोहलपुरमा कुनै पनि बालविवाहका मुद्दा दर्ता भएका छैनन् ।

यहाँ यही कार्तिक १२ देखि १४ गतेसम्म १५० घरधुरी र १२ टोल बस्तीमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा २६.६७ प्रतिशत बाहुन, क्षेत्री, जनजाति ६८.६७ प्रतिशत, दलित ३.३३ प्रतिशत र मधेशी/मुस्लिम १.३३ प्रतिशत सहभागी भए । त्यहाँका ९४ प्रतिशत सर्वसाधारणलाई बालविवाहबारे जानकारी भएको पाइयो ।

५.३३ प्रतिशतले भने बालविवाहबारे कुनै जानकारी नभएको बताएका छन् । ९७.३३ प्रतिशतले विवाह गर्ने उमेर २० वर्षपछि हो भन्नेबारे जानकारी पाएका छन् । वडाका शतप्रतिशत बालबालिकाहरुको जन्मदर्ता भएको छ । वडा नम्बर ६ मा ५० प्रतिशत विवाह भागेर हुने गरेको देखियो । ९६ प्रतिशत लमी/बडघर/पास्टर/ पुरोहितले बालविवाह गराउन छोडेका छन् ।

९३.३३ प्रतिशत नागरिक बालविवाहको भोज भतेरमा सहभागी हुदैँनन् । ६३.३३ प्रतिशत अभिभावक बालविवाह विरुद्ध उजुरी दिनुपर्नेमा सतर्क छन् । ६५.३३ प्रतिशतले बालविवाह गर्ने गराउनेलाई कारबाही गर्न प्रहरीको सक्रियता देखाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार