रझेनामा गुणस्तरहीन कालोपत्रे: भुक्तानी लिन सडक टालटुल



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिककी उप–प्रमुख सञ्जुकुमारी चौधरीको गृह वडामा पहिले गुणस्तरहीन कालोपत्रे गरिएको सडकमा महिनौंपछि टालटुल गरिएको छ । कोहलपुर–६ को रझेना जोड्ने सडकमा गरिएको गुणस्तरहीन कालोपत्रेको ठाउँमा महिनौंपछि टालटुल गरिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटबाट सडकमा गुणस्तरहीन कालोपत्रे गरिएको थियो । सडक निर्माण गरेर कालोपत्रे गरेको चार महिनापछि निर्माण कम्पनीले उक्त सडकका ८–१० स्थानमा टालटुल गरेको छ ।

कुल ३ सय ४५ मीटर दुरीको उक्त सडकमा गुणस्तरहीन कालोपत्रे गरिएको विषयमा मिसन टुडे दैनिकले साउन २७ गतेको अंकमा ‘उप–प्रमुखकै वडामा गुणस्तरहीन कालोपत्रे’ शीर्षकमा प्रथम पृष्ठमा समाचार प्रकाशित गरेको थियो ।

गुणस्तरहीन काम गरेर भुक्तानीको लागि ताकेता गरिरहेको निर्माण कम्पनीले उक्त समाचार प्रकाशित भएपछि भुक्तानी पाएन । नगरपालिकाले गुणस्तरहीन काम गरेको भन्दै भुक्तानी दिन आनाकानी गरिहेको छ । लगातार दुई आर्थिक वर्ष क्रमागत योजनाका रुपमा नगरपालिकाको रातो किताबमा समावेश भएको योजनाको गत असार महिना कालोपत्रे गरिएपनि १ महिना पनि नबित्दै कालोपत्रे बीच–बीचमा उप्किएको थियो ।

आर्थिक वर्ष २०७६–०७७ मा ४ सय मिटर बाटो निर्माण गर्ने लक्ष्य अनुसार राजस्व बाँडफाँड शीर्षक अन्तर्गत ४५ लाख रुपैयाँँ विनियोजन गरिएको थियो । न्यौपाने कन्ट्रक्सनले २७ लाखमा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेको हो । वडा नम्बर ६ को पशुपति टोलदेखि रामप्रसाद थारुको घरसम्म निर्माण सम्पन्न भएको पक्की सडकमा अहिले फेरि कालोपत्रे गरिएको सडक निर्माणको जिम्मा लिएको न्यौपाने कन्ट्रक्सनले जनाएको छ ।

निर्माण कम्पनीका सुपरभाइजर दत्त बहादर टमाटाले पहिला कालोपत्रे गरिएको तर गुणस्तरहीन भएको भनिएका ठाउँमा फेरि कालोपत्रे गरिएको जानकारी दिए । उनका अनुसार उक्त सडकका ८–१० स्थानामा फेरि कालोपत्रे गरेर पुर्ननिर्माण गरिएको हो । ‘पहिला पनि सबै स्थानमा लगभग गुणस्तरयुक्त कालापत्रे सम्पन्न भएको थियो ।

केही स्थानमा गुणस्तरहीन भएको गुनासो आयो । अहिले आएर गुनासो आएको ठाउँमा पुनः कालोपत्रे गरिएको छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । उनले आफूहरुले राम्रो काम गरेको दाबी समेत गरे । यो सडक त्रिभूवन मावि हुँदै वडा नम्बर ६ को थारु गाउँसम्म जोडिन्छ । असार महिनामा उक्त बाटो अन्तर्गत पशुपतिटोल, वडा नम्बर ६ को कार्यालय हुँदै जुम्लीटोलसम्म कालोपत्रे गरिएको थियो । ६ मिटर सडक निर्माण गरिएको उनले बताए ।

उक्त सडक निर्माणमा वडा अध्यक्ष रामशरण थारु र उपप्रमुख सञ्जुकुमारी चौधरीको विवादका कारण विवाद समेत सिर्जना भएको थियो । त्यतिबेला पनि वडा अध्यक्ष थारुले वडामा भन्ने योजनामा कुनै पनि समन्वय नगरेको बताएका थिए । उप–प्रमुख थारुकै दबाबमा ठेकेदार कम्पनी मात्रै होइन काम गर्ने मुल्छीले समेत वडा कार्यालयलाई बेवास्ता गरेको अध्यक्ष थारुले आरोप थियो । वडा अध्यक्ष थारुले मिसन टुडेसँग कुराकानी गर्दै भनेका थिए, ‘वडाको समृद्धिसँग जोडिएको योजनामा लापरबाही भयो ।

उप–प्रमुखले नै वडा कार्यालयलाई बेवास्ता गर्नुभयो । अहिले योजना पनि राम्रो भएन । राज्यको पैसा पनि बचेन कालोपत्रे गरिएको धेरै ठाउँमा समस्या देखिएको छ ।’ योजनाका विषयमा वडाका जनप्रतिनिधिहरुको विवादका कारण आफूहरुले काम गरेपनि जस नपाइएको निर्माण पक्षले गुनासो गरेको छ ।

सुपरभाइजर टमाटा समेत आफूहरुले राम्रो काम गरेको तथा वडा कार्यालयले सहयोग नगरेको बताउँछन् । अहिलेसम्म काम सम्पन्न गरेको बिल भुक्तानी नभएको उनले जानकारी दिए ।

निर्माण कार्य गुणस्तरहीन भएको विषयमा नगरपालिकाले पुनः काम गर्न समेत निर्देशन दिएको थियो । सडक निर्माणको जिम्मा लिएको न्यौपाने कन्ट्रक्सनले अझै पनि भ्याटसहित २२ लाख रुपैयाँँ पाएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार