कोहलपुर ।
मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् ।
एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।
अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताइन् । योबीचको समयमा कुनै दिन काठमाडौंमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ । नोभेम्बर लागेपछि काठमाडौंमा न्यूनतम तापक्रम पनि घटेको उनले बताइन् ।
विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताए ।
तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्नसक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ ।
उनले आगलागी तथा डढेलोका घटनाहरु घट्न थालिसकेको बताए । पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औषतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा. कँडेलले बताइन् । हाल पोष्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आँकलन आउन बाँकी नै छ । आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ ।
‘बिहीबारसम्मको विवरण हेर्दा काठमाडौं, दोलखा, डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औषतभन्दा कम तापक्रम मापन गरिएको छ’, कँडेलले भनिन्, ‘पोखरा, जामेसोमलगायत केही जिल्लामा तापक्रम औषतभन्दा केही बढी छ ।’
मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्को हप्ता आँकलन सार्वजनिक
गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ ।









प्रतिक्रिया दिनुहोस्