‘राम्रो काम गर्न सबैको सहयोग चाहिन्छ’



शिवु खनाल । दाङ ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले देउखुरी क्षेत्रको विकासमा यसक्षेत्रका सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्थायी राजधानी ल्याउने कार्यपनि उत्तिकै प्राथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उनले बताए ।

शुक्रबार देउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रजिअ रेग्मीले स्थानीयहरुको जिज्ञासा र सल्लाह सुझावलाई जवाफ दिदैँ सबैको सहयोग भएमा मात्रै जिल्लामा राम्रो काम गर्न सकिने बताएका हुन् ।

अझ देउखुरी क्षेत्रमा कोइलाबास भन्सारदेखि लिएर भारतसँग जोडिएका थुप्रै नाकाहरु रहेकाले शान्ती सुरक्षाको सतर्कता बढाउने र थप कडाइ गर्ने उनले प्रतिबद्धता जनाए । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले समग्र देउखुरी क्षेत्रकै विकासमा अतुलनिय योगदान पु¥याउन आग्रह गर्दै, लमहीमा व्यवस्थित अटो भिलेज स्थापना गर्नको निम्ती सम्बन्धित निकायसँग पहल गर्न अनुरोध गरे ।

‘पहिले हाम्रो टिम लमहीमा व्यवस्थित अटोभिलेज निर्माणको निम्ती अहोरत्र खटेको थियो । कारणबस निर्माणधिन अटोभिलेजको काम बन्द भएको छ’ उनले भने, ‘पुनः सुचारु गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदछु ।’

बजार व्यवस्थापनमा स्थानीय सरकारले चासो नराखेको भन्दै लमहीका स्थानीय व्यापारीहरुले कुरुप बन्दै गएको लमही बजार व्यवस्थापनमा चासो दिन आग्रह समेत गरेका थिए ।

सुर्खेतबाट सरुवा भइ दाङ आएका रेग्मीलाई लमहीका स्थानीय व्यापारीहरुले लमही नगरपालिकाले पूर्वपश्चिम राजमार्गमा रहेको लमही बजार व्यवस्थापनमा कुनै पनि चासो नदेखाएको भन्दै बजार व्यवस्थापनमा सक्रिय भुमिका खेलिदिन आग्रह गरेका थिए ।

यस्तै प्रजिअ रेग्मीले पहिलेका कामलाई निरन्तरता दिने बताए । यसअघिका प्रजिअ रामबहादुर कुरुम्बाङले दाङको तुलसीपुर, घोराही र लमहीमा पुगेर आफूले सेवा प्रदान गर्दै आएका थिए ।

सोही तालिका अनुसार प्रत्येक शुक्रबार लमही, तुलसीपुर बुधबार र अन्य दिन घोराही क्षेत्रमा रहेर आफूले सेवा प्रदान गर्ने रेग्मीले बताए । उनले शुक्रबार इलाका प्रशासन कार्यालय लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ला अधिकारीको रुपमा सेवाको शुरुवात समेत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ४ गते शनिबार