बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएका छन् ।
कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नम्बर– ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । शुक्रबारदेखि सुरु भएको मेला भोली आइतबारसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन् ।
उनका अनुसार पुरानो मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछन् । ऐतिहासिक मेलाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको कार्यवाहक अध्यक्ष धितालले दाबी गरिन् । गुरुवागाउँ मेलामा किसानले भेडा जुधाउने प्रतिस्पर्धासमेत गर्ने गर्दछन् ।
कोरोना महामारीलाई मध्यनजर गर्दै धेरै भीडभाड हुने नौटङ्की नाच यस वर्ष पनि सञ्चालन नगरिने गुरुवागाउँ मेला व्यवस्थापन समितिका अध्यक्ष तीर्थराम कुर्मीले जानकारी दिए ।
उनका अनुसार मेलामा रामलीला भने सञ्चालन गरिने छ । मेलास्थलमा मदिराजन्य पसल बेलुका ७ बजे अनिवार्य बन्द गर्नुपर्ने, जुवातासजन्य क्रियाकलाप सञ्चालन गर्न नपाइने तथा मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय बैठकबाट गरिएको छ ।
यतामा मेलामा कुनै अप्रिय घटना घट्न नदिनको लागि उचित सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विगतका घटनाहरुलाई पाठ सिक्दै मेलाहरुमा आवश्यक सुरक्षा व्यवस्था प्रहरीले मिलाएको छ ।
दुबै मेलामा जिल्लाबाट समेत थप प्रहरी टोली खटाइएको छ । यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा समेत शुक्रबार मेला लागेको थियो । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको बिहानैदेखि ठूलो भीड लागेको थियो ।










प्रतिक्रिया दिनुहोस्