वडामा नेतृत्व छान्दै माओवादी



वडा सम्मेलनको तयारीका लागि शुक्रबार बसेको कोहलपुर नगर समितिको बिस्तारित बैठक

नेपालगन्ज ।

नेकपा माओवादी केन्द्रले आज (शनिबार) देशैभरी एकैसाथ वडा सम्मेलन गर्दैछ । आज हुन गइरहेको वडा सम्मेलनले वडामा नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

देशभर रहेका ६ हजार ७४३ वटा वडामा एकैदिन नेतृत्व चयन गर्ने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले जानकारी दिए । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको शुक्रबार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको थियो ।

बाँकेका ८१ वडामा समेत आज एकैसाथ वडा सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी)ले जानकारी दिए । ‘शनिबार जिल्लाका सबै वडामा वडा सम्मेलन हुनेछन्’ उनले भने, ‘यसको लागि सबै वडाहरुले तयारी समेत गरिसकेका छन् । वडा सम्मेलनबाट नयाँ नेतृत्व समेत चयन हुनेछ ।’

वडाहरुमा समेत यसअघि नै माओवादी केन्द्रले निर्वाचन समिति बनाइसकेको छ । सकभर सहमतीकै आधारमा नयाँ नेतृत्व चयन गरिने तथा त्यो हुन नसके निर्वाचनमार्फत समेत अहिले नयाँ नेतृत्व चयन गरिनेछ । मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यतालिका बनाएको छ ।

माओवादी केन्द्रले आगामी पुस ११—१३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब ३ लाख कार्यकताहरु विभिन्न तहमा निर्वाचित हुने जनाएको छ ।

८ हजार भन्दा बढी समितिहरु गठन हुनेछन् । माओवादीले करिब ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गरेको बताएको छ । ७ लाख ३५ हजारले अनलाइनमै इन्ट्री गरिसकिएको बताइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ४ गते शनिबार