सन्दर्भ बाल दिवस: कवितामा पोखिए पीडा !



कोहलपुर ।

हो म बाल दिवस त्यसदिन मनाउने छु

सुर्यको प्रकाश जस्तै चम्किला हुनेछन्,

सुदूर र कर्णालीका बालबालिका

जबसम्म भोकले भौतारिनु पर्ने छैन ।।

त्रिभुवन नमूना मावि कोहलपुरमा अध्ययनरत धनबहादुर खड्काले ‘बाल दिवस’ शीर्षकको कवितामा वेदना पोखे । उनलाई अहिलेकै अवस्थामा बाल दिवस मनाउन मन छैन । बालबालिका सबै समान भएको जस्तो पनि लाग्दैन ।

संविधानमा बालबालिका सम्बन्धी धेरै कानुन र नियम छन् । तर अहिलेसम्म कार्यान्वयन गर्नको लागि सरकारले ध्यान दिन सकेको छैन । जसका कारण बालबालिका सडकमै माग्न र भोकै बस्न बाध्य छन् । भविष्यका कर्णदार समेत रहेका बालबालिकाहरुलाई राज्यले पूर्ण अघिकार दिनुपर्ने, बलात्कार जस्ता समस्याको समाधान हुनुपर्छ ।

कविता मार्फत उनले बाल अधिकारको रक्षाको आह्वान समेत गरेका थिए । बाल दिवसको अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम भएको कवितामा बालबालिकाका निराशा, वेदना र पीडा पोखिएका थिए ।

भनिन्छ, बालबालिका हुन् देशको कर्णदार

छैन कसैलाई मदलब, गर्छन दुव्र्यवहार

गरिदिन्छन् विवाह छोरीको नपुगि उमेर

आफ्नै आफ्ना भएनन्,आफन्त नै को छ र ?

बाल दिवसकै शीर्षकमा समीका थापाले लेखेको कविताको अंश हो यो । उनले कवितामा मुलत बालिबालिकाहरुका पीडा प्रस्तुत गरेकी
छन् । त्यसपनि छोरीहरुलाई गरिने दुव्र्यवहारले उनलाई निकै पिरोलेको छ ।

अहिले पनि छोरीहरु बलात्कृत हुनुपर्ने, बालविवाहको सिकार हुनुपर्ने र दाइजो, छाउपडी लगायतका कारणले पछि पारिएको छ । भविष्यमा श्रृष्टिकर्ताको रुपमा रहेका छोरीहरुको संरक्षण अभिभावक र राज्यले गर्न सकेको छैन । समग्रमा सम्पूर्ण बालअधिकारको लागि सबै एकजुट हुनुपर्छ ।

अन्र्तराष्ट्रिय बाल दिवसको अवसरमा श्री सिर्जनशिल अपांगता नमूना बाल क्लबले आयोजना गरेको प्रतियोगितामा उनी तृतीय स्थान हासिल गर्न सफल भएकी थिइन् । १३ जना सहभागी भएको उक्त प्रतियोगितामा पुजा कँडेल द्धितीय भएकी थिइन् । दिवसको अवसरमा विद्यालय स्तरमा लागू औषधको कारण र समस्या समाधानका विषयमा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।

क्लबका संयोजक आशिष अधिकारीका अनुसार दिवसको अवसरमा बालालिकामा रहेका प्रतिभा प्रस्फुटन होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । बालबालिकाहरुले आफ्ना पीडा, अधिकार, कर्तव्य तथा कानुन कार्यान्वयनको अवस्था र राज्यको दायित्वको विषयमा कविता प्रस्तुत गरेको अधिकारीको भनाइ थियो ।

क्लबकी अध्यक्ष नम्रता बुढाथोकीले समेत कविता प्रतियोगितामा छात्राहरुको सहभागिता उल्लेख्य रहेको जानकारी दिइन् । ‘हामीले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएका छौं । यसपटक भने सडक नाटक तथा कविता प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा अर्थपूर्ण सहभागिता रहयो ।

यस्ता क्रियाकलाप आगामी दिनमा समेत निरन्तरता दिनेछौं ।’ उनले भनिन् । विद्यालयकी प्रधानाध्यापक देवका थापाले क्लब मार्फत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन भइरहेको जानकारी दिइन् । उनका अनुसार आगामी दिनमा समेत यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्छ । उक्त अवसरमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ४ गते शनिबार