कोहलपुर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरको सभापतिमा विरेन्द्रकुमार शाह विजयी भएका छन् । सभापतिमा निकटतम प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका थिए ।
शाह संस्थापन इतर पक्षका र श्रेष्ठ संस्थापन(देउवा) पक्षका रहेका छन् । पदाधिकारीमा संस्थापन इतर पक्षका शाहकै प्यानल नै उम्मेदवारहरु विजयी भएका थिए । सभापतिमा विजयी भएका शाहले १ सय ६० र श्रेष्ठले १ सय ४४ मत प्राप्त गरेको मतदान अधिकृत (अधिवक्ता) प्रभाकर भट्टराईले जानकारी दिए ।
यस्तै उपसभापतिमा निर्वाचित भएका भरत शर्मा र सुशील सापकोटाले समान १६७ मत ल्याउँदै विजयी भएका थिए । दुबैका निकटतम प्रतिस्पर्धी चेतकान्त भट्टराईले १३९ र अंशुमान चौधरीले १२८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । सचिवमा पनि शाह पक्षका गोविन्द वाग्ले र बालकुमार शर्माले समान १८१ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिस्पर्धी भूमबहादुर भण्डारीले १३२ मत र भुपेन्द्र शाहीले १०६ मत ल्याए । सहसचिवमा निर्वाचित भएका महेशकुमार चौधरीले १७७ र रामु लम्सालले १५० मत प्राप्त गरेका थिए ।
निकटतम प्रतिस्पर्धी कृष्णकुमार पुन मगरले १३८ र कमल बहादुर शाहीले १२९ मत ल्याएको मतदान अधिकृत भट्टराईले जानकारी दिए । आन्तरिक विवादका कारण मतगणना शुक्रबार दिउँसोबाट मात्र सुरु भएको थियो ।
बिहीबार राती मतदान स्थलमा दुई समूहबीच भएको विवाद हल हुन नसकेपछि शुक्रबार दिउँसोबाट मात्रै मत गणना सुरु भएको हो । विवाद भएपछि नेपाली कांग्रेस १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समिति बाँकेले कोहलपुरको मत गणनाको लागि नयाँ टोली खटाएको थियो ।
नेपालगन्जमा विष्ट विजयी
नेपालगन्ज उपमहानगरमा सभापतिसहित संस्थापन(देउवा) पक्षको पुरै प्यानल निर्वाचित भएको छ । सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका हुन् । उनले २ सय ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला-पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।
यस्तै उपसभापतिमा संस्थापन पक्षका धनराज बर्मा र मो. कमाल अन्सारी निर्वाचित भएका छन् । बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी अतुलकुमार गुप्ताले १०४, बिनोद न्यौपानेले ८४, जाकिर अलि तेलीले ४९ र जिनुरइन मुल्तनमिसले ३१ मत प्राप्त गरेका हुन् ।
सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सुरेन्द्र कुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरेले ९२ र लक्ष्मी खड्काले ७८ मत ल्याइन् ।
यसैगरी सहसचिवमा निर्वाचित भएका संस्थापन पक्षका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नर्वदा शाहीले १ सय १०, शिवकुमार गुप्ताले ७८, प्रकाश बादी (नेपाली)ले ६३ र पूर्णप्रकाश डाँगीले ६२ मत ल्याए ।
प्रदेश क्षेत्रीय प्रतिनिधीमा पनि १ सय ७८ मत ल्याएर संस्थापन (देउवा) पक्षका गोकर्ण आचार्य विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अमृतकुमार आचार्यले १ सय ७३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो ।










प्रतिक्रिया दिनुहोस्