बाल विवाह न्युनिकरणको जिम्मा स्थानीय तहलाई



खजुरा ।

बाँकेको खजुरामा सञ्चालित बाल विवाह रोकथाम परियोजना अवधि सकिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मन्च (स्याक) नेपालले सञ्चालन गरेको परियोजनाको अवधि सकिएपछि बाल विवाह न्युनिकरणको जिम्मा गाउँपालिकालाई दिइएको हो ।

बिहीबार परियोजना समापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरि स्याक नेपालले बाल विवाह न्युनिकरण तथा बाल विवाह मुक्त वडा घोषणाको जिम्मा गाउँपालिकालाई दिएको थियो ।

जिल्लामै बाल विवाह मुक्त गर्ने पहिलो वडाका रुपमा खजुरा बनेकोमा बधाई दिदै बाँकी ६ वटा वडा पनि छिट्टै घोषणा गर्न गाउँपालिकाले अग्रसरता देखाउन आवश्यक रहेको सुझाव दिदै सम्पुर्ण जिम्मेवारी पालिकालाई सुम्पिएको हो ।

खजुरा गाउँपालिकामा परियोजना सञ्चालन भए यता १४ वटा बाल विवाहका घटना हुँदै गर्दा रोक्न सफल भएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिए । हालसम्म १ र ३ नम्बर वटा बाल विवाह मुक्त घोषणा भैसकेको र अन्य ६ वटा वडा घोषणाको प्रक्रियामा रहेको परियोजना प्रबन्धक थापाले बताए ।

खजुरालाई फागुन महिना भित्र बाल विवाह मुक्त घोषणा गर्न आग्रह गर्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकका साथै पालिकाका सम्बद्ध निकायहरुलाई परियोजनाको जिम्मा दिइएको थियो ।

फागुन महिना भित्र मुक्त घोषणा गर्न सके जिल्ला समन्वय समितिबाट १० लाख पुरस्कार स्वरुप प्राप्त हुने हुदाँ उक्त पुरस्कार प्राप्त गर्न र पालिकालाई बाल विवाह मुक्त बनाउन यो कार्य गर्नुपर्ने देखिएको उपस्थित सहभागिहरुले समेत जोड दिए ।

परियोजना सफल बनाउन स्थानीय सरकारको थाप्लोमा जिम्मेवारी आएकाले सम्बन्धित सबैले यस अभियानमा हातेमालो गर्न आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्ष विकले बताइन् ।

‘संघ सस्थाले गर्ने भनेको सरकारलाई सहयोग गर्ने हो । यसमा अपनत्व सरकारले लिन जरुरी छ’ उनले भनिन् । गाउँपालिकाका उपाध्यक्ष विकले परियोजनालाई सफल बनाउन पालिकाले जिम्मेवारी लिने प्रतिवद्धता जनाइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ३ गते शुक्रबार