जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालत गुलरियाले कैद र जरिवानाको फैसला सुनाएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दामा फरार रहेका बर्दिया ठाकुरबाबा नगरपालिका– ८ सुखाडका प्रेम गाहा मगर र वडा नम्बर– १ भुरीगाँउका महेश आचार्य पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले दुबै जनालाई अदालतले सवारी ज्यान मुद्दामा कैद र जरिवाना तोकेको जानकारी दिए । बर्दिया जिल्ला अदालत गुलरियाले गाहा मगरलाई २०७६ जेठ १ गते सवारी ज्यान मुद्दामा १ महिना ६ दिन कैद र २ हजार जरिवाना तोकेको थियो । सोही बेलादेखि उनी फरार रहेका थिए ।
आचार्यलाई २०७८ भदौं १५ गतेको फैसला आदेशले १ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । दुबै जनालाई घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस्