29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

कोहलपुर कांग्रेसको विवाद टुंगियो, केहीबेरमा मतगणना गर्ने तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८  

कोहलपुर ।

दुबै पक्षले आत्मालोचना गरेपछि नेपाली कांग्रेस कोहलपुर नगरको निर्वाचनमा उत्पन्न विवाद टुंगिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद बिहीबार राती कुटाकुटमा परिणत भएको थियो ।

नगर सभापति पदमा संस्थापन (देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट विरेन्द्र शाहबीच प्रतिस्पर्धा छ । उम्मेदवार शाहले पैसा दिएको विषयमा मतदान सकिएपछि विवाद बढ्दा दुबै पक्षबीच कुटाकुट भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा शुक्रबार बिहान दुबै पक्षले आत्मालोचनासहित सहमति जनाएपछि विवाद टुंगिएको नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले जानकारी दिए ।

‘लाठी प्रहार गरेको विषयमा विरेन्द्र शाह जीले आत्मालोचना गर्नुभयो, आफ्नो पक्षका युवाले मुक्का प्रहार गरेको विषयमा राजेन्द्र जीले आत्मालोचना गर्नुभयो र सामाजिक सञ्जालमा जथाभावी लेखेका पूर्णप्रसाद आचार्यले स्टाटस डिलिट गर्नुभयो, विवाद टुंग्याएर सबै जना मत गणनास्थलमा फर्किसक्यौं,’ उनले भने ।

एक प्रत्यक्षदर्शीका अनुसार मतदान कार्य अन्तिम चरणमा पुगेका बेला शाहले एक जना कार्यकर्तालाई मतदान स्थलमै गोजीबाट एक हजार रुपैयाँ निकालेर दिएका थिए ।

‘मतदान सकिएर पनि मत पेटिका राखिसकेपछि पैसा दिएको कुरा निस्क्यो, पैसा दिएर मतदाता किनेको भन्दै राजेन्द्र पक्षका युवाले विरेन्द्रमाथी प्रश्न तेर्साए, राजेन्द्रले चाही अब भैहाल्यो, विवाद नगरौं भनेर माहोल शान्त पार्ने प्रयास गरिरहेका थिए,’ प्रत्यक्षदर्शीले भने ‘विरेन्द्रले चाही उम्मेदवारी सदर नभएपछि आफ्नो मान्छेलाई पैसा फिर्ता दिएको बताइरहेका थिए, त्यसै क्रममा शाह र तरुण दलका हरिसिंह कठायतबीच भनाभन भयो, विरेन्द्रले लाठी उठाएर हरिसिंहलाई हिर्काए, हरिसिंहले पनि शाहलाई एक मुक्का दिए ।’

उक्त घटनापछि युवा नेता आचार्यले शाहमाथी हातपात भएको भन्दै सामाजिक सञ्जालमा राती नै सार्वजनिक गरेका थिए । दुबै पक्षबीचको विवादका कारण शुक्रबार बिहान ८ बजे सुरु हुने भनिएको मत गणना हुन सकेको थिएन । अब केहीबेरमा मत गणना सुरु हुने बताइएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८     12:53:58 PM  |