18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोहलपुरका चार वडा बालविवाह मुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका १५ मध्ये ४ वटा बालविवाह मुक्त घोषणा भएका छन् । बिहीबार नगरपालिकाको केन्द्रको रुपमा रहेको वडा नम्बर– ११ लाई बालविवाह मुक्त घोषणा गरिएसँगै बालविवाह मुक्त घोषणा हुने वडाको संख्या चार पुगेको हो । यसअघि कोहलपुरका वडा नम्बर १, १२ र १३ बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

एक औपचारिक कार्यक्रमकाबीच बालविवाह मुक्त भएसँगै वडा नम्बर ११ बाँके जिल्लाको २७ औं वडा बनेको छ । यसअघि जिल्लाका २६ वटा वडा बालविवाह घोषणा भइसकेका छन् । जिल्लाका जानकी र बैजनाथका भने सम्पूर्ण वडा बालविवाह मुक्त घोषणा भइसकेको जनाइएको छ । बिहीबार सम्पन्न कार्यक्रमकाबीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बालविवाह मुक्त वडा बनेको घोषणा गरेका थिए । उनले वडा अध्यक्ष कर्ण बहादुर थापालाई घोषणपत्र समेत प्रदान गरे ।

उक्त अवसरमा बोल्दै नगर प्रमुख रावतले आगामी फागुन महिनासम्म कोहलपुर नगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार बालविवाह मुक्त घोषणा सकारात्मक हो, तर त्यसलाई कार्यान्वयन सबैभन्दा महत्वपूर्ण देखिन्छ । ‘कोहलपुर नगरपालिका बालविवाह मुक्त गर्ने अभियानमा छ । सोही अनुसार हामी निरन्तर लागिरहेका छौं ।

यो अभियानमा सबैको सहयोग र सहकार्य आवश्यक छ ।’ नगर प्रमुख रावतले भने । जिल्लाकै पहिलो स्थानीय तहको रुपमा बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर– ११ का अध्यक्ष कर्ण बहादुर थापाले बिहेवारी २० वर्षपारी भन्ने नारालाई मुर्तरुप दिन सम्पूर्ण सरोकारवाला निकाय एकजुट हुनुको विकल्प नभएको बताए ।

उनले नगरपालिकाको चौथो वडाको रुपमा बालविवाह मुक्त गर्नु सकारात्मक सन्देश भएको जानकारी दिए । बालविवाह मुक्तसँगै कार्यान्वयन पक्षलाई समेत विशेष अभियानका रुपमा दिइने उनको भनाइ रहेको थियो । सोही अवसरमा कोहलपुर नगरपालिका वडा नम्बर– ११ मा कोभिड–१९ र बालविवाह न्युनिकरणमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

बालविवाह मुक्त घोषणाका आधार

कोहलपुर–११ मा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म १ वर्षको अवधिमा ६१ वटा विवाह दर्ता भएको छ । उक्त अवधिमा कुनै पनि बालविवाह दर्ता भएको छैन । कम्तिमा २० देखि ५६ वर्षसम्मकाले विवाह गरेका छन् । वडा नम्बर– ११ लाई बालविवाह मुक्त गर्नको लागि नमूना सर्वेक्षण गरीएको थियो । उक्त सर्वेक्षणमा ७ वटा बालविवाह भएको फेला परेको छ ।

उनीहरु वडामा विवाह दर्ता गर्न गएका छैनन् । वडामा विवाह दर्ताको तथ्यांकलाई हेर्दा वडामा कुल ११.४७ प्रतिशत बालविवाह भएको देखिन्छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा यस अवधिमा बालविवाह विरुद्ध मुद्दा परेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्नुपूर्व २०७८ असोज ९ देखि ११ गतेसम्म ३ सय घरधुरीमा नमूना सर्वेक्षण भएको थियो ।

वडाका ५ बस्तीमा रेन्डम सेम्पलिङ विधिबाट भएको वडा कार्यालयले जनाएको छ । सर्वेक्षणमा २९.३३ प्रतिशत बाहुन र क्षेत्री, ५७ प्रतिशत जनजाति र ६ प्रतिशत दलित सहभागी गराइएका थिए । ६७ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष सहभागी भएको सर्वेक्षणमा १५ वर्षदेखि २५ वर्षभन्दा माथिका व्यक्तिलाई सहभागी गराइएको थियो ।

कोहलपुर–११ का ९०.६७ प्रतिशत सर्वसाधारणलाई बालविवाहबारे जानकारी छ । ९.३३ प्रतिशत सर्वसाधारणलाई बालविवाहबारे कुनै जानकारी नै छैन । ९९.३३ प्रतिशतलाई २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने थाहा भएको पाइएको छ । कुल ५७.३३ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेको छ । ९७.६६ प्रतिश सर्वसाधारणले समाजमा बालविवाह नभएको बताएका थिए । कोहलपुर–११मा शतप्रतिशत विवाह भागेर भएको छ ।

अहिले ९६ प्रतिशत लमी /बडघर/पाष्टर र पुरोहितले बालविवाह गराउन छोडेका छन् । ७४.६७ प्रतिशत बालविवाह भएको जन्ती भोज भतेरमा सहभागी हुँदैनन् । ४९ प्रतिशत अभिभावक बालविवाह विरुद्ध उजुरी दिनुपर्नेमा सतर्क छन् । भने ९३ प्रतिशत बालबालिका, अभिभावक, धार्मिक गुरु, जनप्रतिनिधि र सामाजिक अगुवाहरु बालविवाहका विषयमा सचेत छन् । ६९ प्रतिशत समुदायमा आधारित संस्था, समिति, समूह, सञ्जाल बालबिवाहविरुद्ध संक्रिय छन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८     12:43:01 PM  |