17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

घरेलु महासंघ कोहलपुर उत्कृष्ट शाखा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८  

कोहलपुर ।

लुम्बिनी प्रदेशभरीमै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर कार्यसम्पादनमा उत्कृष्ट भएको छ । पालिकामा रहेका प्रदेशका अन्य शाखाहरुलाई पछि पार्दै कार्यसम्पादनमा कोहलपुर उत्कृष्ट भएको हो ।

कार्यसम्पादनमा उत्कृष्ट रहेको कोहलपुर नगर समितिलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशनमा सम्मान समेत गरिएको थियो ।

प्रदेशमा रहेका घरेलुका १ सय ९ पालिकामध्ये घरेलुको कोहलपुर नगर समिति कार्यसम्पादनमा उत्कृष्ट घोषित हुँदै सम्मानित भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेम विक्रम जिसीले व्यवसायीहरुको संरक्षण र हकहितमा काम गरिएको बताउँछन् ।

‘हामीले यहाँका उद्योगी व्यवसायीहरुको संरक्षण र हकहितमा काम गरिरहेका छौं’ उनले भने, ‘सो क्रममा कोहलपुर शाखा उत्कृष्ट भएर सम्मानित भयौं । यसले हामीलाई अझै जिम्मेवारी थपिएको महशुस गरेका छौं ।’ प्रदेशको दोस्रो महाधिवेशनमा नगर अध्यक्ष जिसी, महासचिव चिन्तामणी उपाध्याय (सिएम) लगायतलाई सम्मान पत्र दिइएको थियो ।

दोस्रो महाधिवेशनमा घरेलु महासंघ बाँके नै प्रदेशभरीकै उत्कृष्ट शाखा बनेको थियो । प्रदेशमा रहेका जिल्ला शाखामध्ये बाँके शाखा समेत उत्कृष्ट भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाका महासचिव गिरीराज भुषालले जानकारी दिए । सम्मान पत्र नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्कालाई प्रदान गरिएको थियो ।

अध्यक्ष खड्काले बाँकेमा रहेका व्यवसायीहरुको संरक्षण र सम्बद्र्धन तथा कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै आफुहरुमाथि थप जिम्मेवारी थपिएको बताइन् । ‘यो सम्मानले बाँके शाखालाई व्यवसायीहरुको पक्षमा अझै काम गर्नुपर्ने हौसला दिएको छ’ उनले भनिन्, ‘व्यवसायीका समस्याबाट हामी पछि भाग्दैनौं । घरेलु महासंघ उद्योगी व्यवसायीसँगै हुन्छ ।’

यस्तै महासंघको लुम्बिनी प्रदेश समितिमा बाँके जिल्लाबाट महासचिवमा जयश्वर पौडेल र महिला उद्यमी समितिमा बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश समितिको सदस्यहरुमा बाँकेबाट सतिस अधिकारी र धनसिंह ओली समेत सर्वसम्मत चयन भएको महासंघ बाँकेका महासचिव भुषालले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७८     12:33:08 PM  |