एमाले अध्यक्ष केपी ओलीको टिप्पणी: कांग्रेस ‘प्रचण्डपथ’ मा विलीन !



शुभाकर विश्वकर्मा । नेपालगन्ज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस प्रचण्डपथमा विलीन भएको टिप्पणी गरेका छन् । बाँकेको नेपालगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले आफ्नो आफ्नो सिद्धान्त नै बिर्सिएको टिप्पणी गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका उनले नेपाली कांग्रेसले अहिले चार दलको बैशाखी बोकिरहेको बताए । प्रधानमन्त्री पद पाउन शेरबहादुर देउवाले कांग्रेसलाई प्रचण्डपथमा हिंडाएको अध्यक्ष ओलीको भनाइ छ । ‘कांगे्रस प्रचण्डपथमा विलीन भयो, कहाँ छ वीपी र गणेशमानको कांग्रेस, कहाँ छ, कृष्णप्रसाद भट्टराईको कांग्रेस ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘कांग्रेसलाई सोध्न चाहन्छु, एमालेसँग एक्लै चुनाव लड्ने हिक्मत छ । एमालेसँग लड्ने कसैको हिम्मत नै छैन ।’

यस्तै उनले पाँच दलीय गठबन्धनलाई अपवित्रको संज्ञा दिएका छन् । एमालेलाई पराजित गर्न भन्दै गठबन्धन बनेको बताएका अध्यक्ष ओलीले जुनसुकै पार्टी एमालेसँग एक्लै चुनाव लडे जमानत जफत हुने दाबी गरे । देउवाले प्रचण्डले जे भन्यो त्यहि मात्रै काम गर्ने गरेको पनि बताएका थिए । उनले अघि भने, ‘कांग्रेसले २०१५ सालमा दुई तिहाई ल्याएको थियो । २०४८ सालमा बहुमत ल्यायो ।

२०५६ मा कमजोर बहुमत, त्यसपछि ३७, ३३ हुँदै २३ सिटमा सीमित भएको होइन र ? ।’ अब अरुसँग तालमेल मिलाउँदा मिलाउँदै कांग्रेस कहाँ पुग्ने हो उसैलाई थाहा छैन । अहिले पनि देशको सबैभन्दा ठूलो दल एमाले नै भएको भन्दै परमादेशको सरकारले जनताको पक्षमा काम नगरेको भन्दै सरकारको चर्को आलोचना समेत उनले गरे । अध्यक्ष ओलीले अदालत लडाइँ, कालोपट्टी, बन्द आन्दोलनको थलो भएको बताउँदै जनताको समस्या नहेर्ने र तलब भत्ता लिने न्यायाधीश हुनु दुःखद् भएको बताएका थिए ।

‘देशका ठूला गौरवका आयोजना मेरो पालामा बनेका छन् । विकासको आधार खडा गरेको सरकारलाई परमादेशबाट हटाइयो’, एमाले अध्यक्ष ओलीले भने, ‘इतिहास मै हामीले धेरै राम्रा काम गरेका छौं । जनता एमालेको पक्षमा छन् ।’ पश्चिम क्षेत्रका ठूला आयोजना भेरी बबई डाइभर्सन र सिक्टा सिँचाई आयोजना समेत आफ्नो पालामा बनेको उनले दाबी गरे ।

उनले माओवादी केन्द्र लगायतका पार्टी एमालेको प्रतिष्पर्धी नै नभएको स्पष्ट पारेका छन् । उनले माओवादी नेता कार्यकर्तालाई एमालेमै प्रवेश गरेर जनताको सेवा गर्न समेत सुझाव दिए । उक्त अवसरमा अध्यक्ष ओलीले जनताको पक्षमा एमालेले मात्रै काम गरेको भन्दै समृद्ध नेपालको पक्षको सबै नेपालीलाई एमाले झण्डामुनी एकताबद्ध हुन पनि आह्वान गरे ।

उनले नेकपा एमाले मधेशविरोधी पार्टी नभएको समेत स्पष्टीकरण दिए । एमालेलाई मधेशमा कमजोर बनाउन शत्रुहरुले भ्रम फिजाँउने काम गरेको दाबी अध्यक्ष ओलीले गरे । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङका अनुसार स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्रासहित अन्य नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

बृहत पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष ओली, प्रदेश नेता शंकर पोखरेल, एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपति, मिश्र र अब्दुल करिम खाँ लगायतले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार