कांग्रेसको बाँकेका पालिकामा आज निर्वाचन



कोहलपुर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बाँकेका पालिकाहरुमा निर्वाचन हुने भएको छ । बुधबार सर्वसम्मत चयन भएका पालिकाका पदहरु बाहेक अन्य पदहरुमा आज मतदान हुने नेपाली कांग्रेस १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समिति बाँकेले जनाएको छ । बुधबार जिल्लाका आठ वटै पालिकाहरुमा उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।

कुनै पनि पदमा एक भन्दा बढीले उम्मेदवारी दिएका स्थानहरुमा निर्वाचन हुनेछ । डुडुवा, खजुरा, जानकी र नरैनापुरमा सभापति निर्विरोध निर्वाचित भइसकेका छन् । नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ र राप्ती सोनारी गाउँपालिकामा भने आज सबै पदका लागि निर्वाचन हुनेछ ।

नरैनापुर बाहेक सभापति चयन भइसकेका अन्य पालिकाहरुमा भने अन्य पदहरुमा निर्वाचन हुने जिल्ला निर्वाचन परिचालन समिति बाँकेले जनाएको छ । आज बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिने निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए ।

कोहलपुर नगरपालिकामा सभापति पदका लागि बिरेन्द्र शाह र राजेन्द्रप्रसाद श्रेष्ठ भिड्ने छन् । श्रेष्ठले संस्थापन पक्षका हुन् भने शाहले संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका हुन् । शाहको समूहबाट उप–सभापतिमा सुशील सापकोटा र भरत शर्मा, सचिवमा बालकुमार शर्मा र गोबिन्द वाग्लेले उम्मेदवारी दिएका छन् ।

श्रेष्ठको समूहबाट उप–सभापतिमा चेतकान्त भट्टराई र अन्शु थारू, सचिवमा भुम भण्डारी र भुपेन्द्र शाहीले चुनावी मैदानमा उत्रिएका छन् । कोहलपुर नगर अधिवेशनमा ३ सय ३ जनाले मतदान गर्ने बताइएको छ । यस्तै नेपालगन्ज नगर सभापति पदका लागि उमा थापामगर, प्रशान्त बिष्ट र विनोद रिजालले उम्मेदवारी दिएका छन् ।

थापा मगर नेतृत्वको प्यानलबाट उपसभापतिमा विनोद न्यौपाने र जाकिर अली तेली, सचिवमा रविन्द्र घिमिरे र लक्ष्मी खड्का तथा सहसचिवमा प्रकाश बादी र शिव कुमार गुप्ता रहेका छन् । बिष्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबू घिमिरे छन् भने सह–सचिवमा शरदराज अधिकारी र मार्टिन वली क्षेत्रीले उम्मेदवारी दर्ता गराए ।

यस्तै रिजाल नेतृत्वको प्यानलबाट उपसभापतिमा अतुल कुमार गुप्ता र नुरैन मुल्तमिस (साहिल), सचिवमा कुन्तल राज शर्मा, सह–सचिवमा पूणर् प्रकाश डाँगी र नर्मदा शाहीले उम्मेदवारी दर्ता गराएका छन् । रिजालको प्रस्तावकमा कृष्ण बिश्वकर्मा र समर्थकमा हेमन्त शाक्य रहेका छन् ।

विष्ट र रिजाल संस्थापन तथा थापा मगर संस्थापन इतरकी हुन् । यस्तै बैजनाथ गाउँपालिकामा देव बहादुर केसी, केशर खड्का र रामबहादुर विष्टले सभापतिको लागि उम्मेदवारी दिएका छन् । सबै संस्थापन पक्षका उम्मेदवार हुन् । राप्तीसोनारी गाउँपालिकामा भिम बहादुर राना र तुलाराम खत्री सभापति पदमा उम्मेदवारी दिएका छन् । राना संस्थापन र खत्री इतर समूहका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २ गते बिहीबार