नेपालगन्जमा आपतकालिन रक्तदान



नेपालगन्ज ।

बाँकेमा रगतको अभाव भएपछि नेपालगन्जमा मंगलबार आपतकालिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका रक्तसंचार केन्द्रमा रगतको चरम अभाव हुन थालेपछि मंगलबार आपतकालिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तसंचार केन्द्र नेपालगन्जको आव्हानमा लाइन्स क्लब अफ नेपालगन्ज बजार र डोनर ग्रुप नेपालगन्जले आपतकालिन रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । आपतकालिन रक्तदान कार्यक्रममा ५५ जनाले रगत दिएको लाइन्स क्लब अफ नेपालगन्ज बजारले जनाएको छ । कार्यक्रममा पहिलोपटक रगत दान गर्नेदेखि ८८ पटकसम्म रक्तदान गर्नेहरुले समेत सहभागिता जनाएका थिए ।

पछिल्लो समय रक्तसंचार केन्द्रमा रगत अभाव रहेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । ‘दसैं तिहारपछि बाँकेमा नियमित रक्तदान गर्नेको संख्या घटेको र बिरामीको संख्या बढेका कारण रगतको चरम अभाव देखिएको हो’ उनले भने, ‘अब नियमित रक्तदान गर्नेको संख्या बढेपछि यस्तो समस्या नआउँन सक्छ ।’

भेरी अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रबाट सोमबारमात्रै ५८ प्रिन्ट रगत पूर्ति भएको थियो । रक्तदान गर्ने भन्दा रगत लिने संख्या धेरै भएकाले केन्द्रमा रगत अभाव चर्किएको बताइएको छ ।

आपतकालिन रक्तदानको सहकार्य भने बाँकेका क्षेत्रका समस्त लियो क्लव, रक्तसंचार केन्द्र र कशौधन बैश्य समाज नेपालगन्ज तथा नेपालगन्ज ग्यालरीले गरेका थिए ।

साविक मध्य तथा सुदुरपश्चिमका जिल्लाबाट बाँकेका अस्पतालहरुमा बिरामीहरु रिफर भएर आउने गर्दछन् । सोही कारणले यहाँ अन्य जिल्लाहरुको भन्दा बढी रगतको माग हुने गरेको छ । अहिले रगत अभाव हुँदा बिरामीका आफन्तहरुले आफैं रगत दिनुपर्ने मान्छे खोज्नुपर्ने बाध्यता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १ गते बुधबार