नेपालगन्ज ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगन्ज आउने भएका छन् । एमाले बाँकेले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा भाग लिन एमाले अध्यक्ष ओली आज बिहान काठमाडौंबाट जहाजमा नेपालगन्ज आउन लागेका हुन् ।
स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्रा लगायतका व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन उनी नेपालगन्ज आउन लागेको बताइएको छ ।
पार्टी प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा एमाले बाँकेका उप–सचिव प्रमोद धितालले जानकारी दिए । ‘अध्यक्ष कमरेड ओली आउने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्था छ’ उनले भने, ‘तीन हजारभन्दा बढी विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।’
मिश्रासहित गिरिजाप्रसाद पाठक, अब्दुल करिम खाँ लगायत क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेछन् । जिविस बाँकेका सभापति समेत भइसकेका मिश्रा २०७४ सालको संसदीय निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको तर्फबाट एमालेको सूर्य चुनाव चिन्ह लिएर बाँके क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी हुनेछन् । कार्यक्रमको लागि एमालेले जिल्लाका गाउँ गाउँबाट कार्यकर्ताहरु नेपालगन्जमा ल्याउँनेछ ।
सोही अनुसार नै केहीदिन पहिलादेखि नै गाउँसम्म एमालेले तयारी गरिरहेको थियो । ‘अध्यक्ष ओलीको कार्यक्रममा हाम्रो पालिकाबाट मात्रै कम्तिमा आधा दर्जन बसमा कार्यकर्ता लैजाने योजना बनाएका छौं’ राप्ती सोनारीका एक एमाले नेताले भने, ‘आफ्नै सवारी साधनमा समेत धेरैजना जानुहुन्छ ।
जिल्लाबाट धेरै भन्दा धेरै सहभागि गराउनु भन्ने निर्देशन रहेको छ ।’ यता पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु नेपालगन्ज आउने भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्य दिनको तुलनामा बाक्लो मात्रामा परिचालन गरिएको छ । ‘उच्च तहका नेताहरु आउने भएसँगै बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ’ बाँके प्रहरी स्रोतले भन्यो’, ‘सादा पोशाकमा समेत हामीले धेरै सुरक्षाकर्मीहरु सूचना संकलनको लागि परिचालन गरेका छौं ।’










प्रतिक्रिया दिनुहोस्